इंग्ल्याण्डको क्रिकेट टोली नेपाल भ्रमणमा आउने गृहकार्यमा

दार्चुला । विश्व क्रिकेटको पावरहाउस इंग्ल्याण्डले सन् २०२७ देखि २०३१ सम्मको अन्तर्राष्ट्रिय क्रिकेट तालिका अन्तर्गत नेपालको भ्रमण गर्ने तयारी गरिरहेको खुलेको छ। यो भ्रमण सफल भएमा नेपाल भ्रमण गर्ने इंग्ल्याण्ड अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली अन्तर्राष्ट्रिय टोली हुनेछ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्ड (इसीबी)ले आगामी २०२७-३१ को चक्रमा नेपालसँग छोटो टी-२०आई श्रृंखला खेल्ने सम्भावनाबारे अध्ययन गरिरहेको हो। विशेषगरी भारत भ्रमणको समय मिलाएर दुई वा तीन खेलको श्रृंखलाका लागि नेपाल आउने गरी ईसीबीले छलफल अगाडि बढाएको इएसपीएन क्रिकइन्फोले जनाएको छ।

केही समयअघि भारतको वानखेडे स्टेडियममा सम्पन्न टी-२० विश्वकपमा नेपाल र इंग्ल्याण्डबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। अन्तिम बलमा मात्र नतिजा सुम्पिएको उक्त खेलपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्व कप्तान पारस खड्काले भारतमै ईसीबीका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा द्विपक्षीय श्रृंखला र नेपाली क्रिकेटको विकासका विषयमा छलफल भएको बुझिएको छ।

आयरल्याण्डले नेपाल भ्रमण गर्ने
नेपालले अहिलेसम्म कुनै पनि पूर्ण सदस्यसँग घरेलु मैदानमा पूर्ण कदको अन्तर्राष्ट्रिय श्रृंखला खेलेको छैन। तर, यो अवस्था छिट्टै परिवर्तन हुँदैछ।

आयरल्याण्ड क्रिकेटले गत मार्चमा क्यानसँग पाँच वर्षको रणनीतिक साझेदारी गरेको छ, जसअन्तर्गत सन् २०२६-२७ को हिउँदमा आयरल्याण्डले नेपालमा सेतो बल (ओडिआई र टी-२०) को श्रृंखला खेल्ने तय भइसकेको छ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले टी-२० विश्वकपका दौरान ठूला राष्ट्रहरू नेपाल आउनुले नेपाली क्रिकेटलाई विश्वव्यापीकरण गर्न मद्दत गर्ने बताएका थिए। उनले भनेका थिए, ‘यदि अष्ट्रेलिया वा इंग्ल्याण्ड जस्ता देश नेपाल आए भने त्यसले विश्व क्रिकेटलाई नेपालले पनि राम्रो क्रिकेट खेल्छ भन्ने सन्देश दिनेछ। यो हाम्रो लागि धेरै महत्त्वपूर्ण छ।’

यस्तै, क्यानका सचिव पारस खड्काले बेलायती च्यानल स्काई स्पोर्ट्ससँगको कुराकानीमा नेपाली क्रिकेटलाई अहिले ‘एक्स्पोज’ चाहिएको बताएका छन्। उनले भनेका छन्, ‘हामी एक ओडिआई राष्ट्र हौं र हामी टेस्ट खेल्ने राष्ट्रहरूसँग खेल्न चाहन्छौं। राम्रो प्रतिद्वन्द्वीसँग खेल्दा मात्रै खेलाडीमा निखार आउँछ। यसले नेपालका हजारौं बालबालिकालाई क्रिकेटतर्फ आकर्षित गर्नेछ, किनकि नेपालमा क्रिकेट एउटा खेल मात्र नभएर एकताको आधार पनि हो।’

कस्तो हुनेछ इंग्ल्याण्डको तालिका ?

सन् २०२७ को सिजनमा इंग्ल्याण्डले घरेलु मैदानमा अष्ट्रेलियासँग प्रतिष्ठित ‘एसेज’ श्रृंखला खेल्नेछ भने पाकिस्तान र न्यूजिल्याण्डसँग पनि श्रृंखला खेल्ने तालिका छ। त्यसैले नेपाल भ्रमणलाई उनीहरूले भारत वा दक्षिण एसियाको भ्रमणको छेको पारेर दुई-तीन दिनको छोटो तालिकामा समेट्ने सम्भावना छ।

हाल ईसीबी र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले भविष्यको भ्रमण तालिकालाई अन्तिम रूप दिन छलफल गरिरहेका छन्। यदि सबै कुरा योजना अनुसार अगाडि बढेमा, सन् २०२७ देखि २०३१ को बीचमा नेपाली समर्थकहरूले आफ्नै घरेलु मैदानमा इंग्ल्याण्डका स्टार खेलाडीहरूलाई खेलिरहेको देख्न पाउनेछन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?