दार्चुला । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरिब, सुकुम्वासी र निमुखा वर्गलाई विकासको बाधकका रूपमा नहेर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजकाे बैठकमा संयाेजक प्रचण्डले गरिब र सुकुम्वासीलाई विकासका अवरोधक ठान्ने सरकारको दृष्टिकोण स्वीकार्य नहुने चेतावनी दिनुभयो । उहाँले विना योजना र पूर्वतयारी जबरजस्ती सुकुम्वासी बस्ती खाली गराउने कार्यले देशको मुहार नफेरिने भन्दै वैज्ञानिक र व्यवस्थित माध्यमबाट भूमिसम्बन्धी समस्याको हल गरिनुपर्नेमा जोड दिनुभयो ।
गरिब, मजदुर, किसान र निमुखा वर्गले गणतन्त्र स्थापनामा ठूलो योगदान दिएको भन्दै उनीहरूलाई न्याय दिनु सरकारको प्रमुख जिम्मेवारी भएको प्रचण्डकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘म सरकारसँग आग्रह गर्न चाहन्छु, गरिबहरू समृद्धिका बाधक होइनन् । सुकुम्वासीहरू विकासका अवरोधक होइनन् । विना कुनै योजना, विना कुनै पूर्वजानकारी जबरजस्ती बस्ती खाली गरेर देशको मुहार फेरिन्न । जसको कोही हुन्न उसको सहारा राज्य बन्नुपर्छ भनेर नै नेपाली नागरिकले लामो लडाइँ लडेर संविधानमा आवासको अधिकार र गरिबको अधिकार लेख्न सफल भएको हो । नागिरकलाई उठिबास लगाएर, बिचल्लीमा पारेर लोकतन्त्रको सर्भिसिङ हुनै सक्दैन । यसमा सरकारले पुनर्विचार गरोस् ।’




