दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ स्थित खान माध्यमिक विद्यालय ऐरीछानामा चट्याङ पर्दा विद्यालयको विद्युत तथा प्रविधिसम्बन्धी सामग्रीमा क्षति पुगेको छ ।
बुधबार दिउँसो करिब ४ बजेतिर विद्यालय परिसरमा जडान गरिएको वाइफाइ टावरमा चट्याङ परेको हो । चट्याङका कारण विद्यालयको विद्युत मिटर पूर्ण रूपमा जलेको विद्यालयका सहायक प्रधानाध्यापक धनसिंह खत्रीले जानकारी दिनुभयो ।
चट्याङले विद्यालयमा रहेका पाँच थान कम्प्युटर, एक थान साउन्ड सिस्टम (डिजे), वाइफाई राउटरमा समेत क्षति पुगेको छ । साथै चार कोठे विद्यालय भवनको सम्पूर्ण विद्युत वायरिङसमेत जलेर नष्ट भएको उहाँले बताउनुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक खत्रीका अनुसार घटनाबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
चट्याङपछि विद्यालयको विद्युत तथा सूचना–प्रविधिसम्बन्धी सेवा प्रभावित बनेको विद्यालयले जनाएको छ ।




