दार्चुला । नेपाली बलहरुसामु निरिह बनेपछि अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालविरुद्ध १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले घरेलु टोलीविरुद्ध ४३.३ ओभरमा सबै विकेट गुमाएर १९५ रनको योगफल खडा गरेको हो । अमेरिकाका निम्ति ओपनर स्मित पटेलले ८३ रनको अर्धशतकीय पारी खेले ।
८९ बल खेलेको पटेलले आठ चौका र तीन छक्का प्रहार गरे । उनले दोस्रो विकेटको निम्ति शेहन जयसूर्यासँग १०० रनको शतकीय साझेदारी गरेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शेहन जयसूर्याले ५० रन बनाउँदै टोलीको निम्ति दोस्रो अर्धशतक प्रहार गरे ।
जयसूर्याले ५२ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । २२.४ ओभरमा उनी पभेलियन फर्किएपछि, यी दुईबीचको शतकीय साझेदारी तोडिएको थियो । मिलिन्द कुमारले २८ रन बनाउँदा अविजित रहेका हर्मित सिंहले १४ रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
ओपनर शयन जागिंरले ६ रन बनाए । गत बुधबार सम्पन्न स्कटल्यान्डविरुद्धको खेलमा शतकीय पारी खेलेका कप्तान साइतेजा मुकामालाले चार रन मात्र बनाउनसके । शुभम रञ्जानेले दुई रन मात्र जोड्न सके । नोस्थुज केनिजगे र सञ्जय कृष्णमूर्थी समान एक रन बनाएर पभेलियन फर्किए ।
महोम्मद मोहसीन ‘डक’ आउट भए । अविजित रहेका शौरभ नेत्रावल्करले कुनै पनि रन जोड्न सकेनन् । नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । ७.३ ओभर बलिङ गरेका ऐरीले २४ रन खर्चिए । उनको इकोनोमी ३.३० रह्यो । सोमपाल कामीले दुई विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाले एक विकेट लिए ।
खेलमा नेपाल श्रृंखलाको पहिलो जित निकाल्दै प्रतियोगितामा लिग–२ मा नवौँ जित दर्ता गर्ने लक्ष्यमा हुनेछ । घरेलु टोलीले हालसम्म प्रतियोगितामा २५ खेल खेल्दा आठ जित र १५ हार व्यहोरेको छ । टोलीको तीन खेल भने रद्द भएको छ ।
नेपालले गत मे १२ मा सम्पन्न श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्डसँग डीएलएस प्रणालीका आधारमा दुई रनको हार व्यहोरेको थियो । यता, अमेरिका भने पनि श्रृंखलाको पहिलो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ । अमेरिकाले हालसम्म प्रतियोगितामा १५ खेल खेल्दा १८ जित र सात हार व्यहोरेको छ ।
हिजो श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्डसँग डीएलएस प्रणालीका आधारमा पराजित भएपछि टोली दोस्रो स्थानमा झरेको थियो ।




