दार्चुला । नौगाड गाउँपालिकाले स्थानीय तहबाट प्रवाह हुने सेवालाई थप पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले डिजिटल नागरिक वडापत्र औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
गाउँपालिकाले सुरु गरेको डिजिटल प्रणालीमा विभिन्न सेवा सम्बन्धी प्रक्रिया, आवश्यक कागजात, सेवा प्राप्त गर्न लाग्ने समय, शुल्क तथा सम्बन्धित कानुनी व्यवस्थासहित विस्तृत जानकारी समावेश गरिएको छ। साथै सेवा उपलब्ध गराउने शाखा र जिम्मेवार कर्मचारीको विवरण पनि राखिएको गाउँपालिकाले जनाएको छ।
डिजिटल नागरिक वडापत्रमार्फत सेवाग्राहीले अब कुन सेवा कहाँबाट र कसरी प्राप्त गर्न सकिन्छ भन्ने जानकारी सहज रूपमा लिन सक्नेछन्। सम्बन्धित शाखा तथा कर्मचारीको फोन नम्बर र इमेल ठेगाना समेत समावेश गरिएकाले सेवाग्राहीलाई प्रत्यक्ष सम्पर्क गर्न पनि सहज हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले सूचना प्रवाहलाई व्यवस्थित बनाउँदै स्थानीय सरकारप्रति नागरिकको पहुँच र विश्वास बढाउन डिजिटल नागरिक वडापत्र प्रभावकारी हुने जनाएको छ।




