बजार अनुगमन प्रभावकारी बनाउन र क्षतिग्रस्त विद्यालय पुनःनिर्माण गर्न अनेरास्ववियुको माग

दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी दार्चुलाले बढ्दो महँगी, कालोबजारी नियन्त्रण, चर्को भन्सार दरको पुनरावलोकन तथा प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त विद्यालय भवनको पुनःनिर्माणको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ज्ञापनपत्र बुझाएको छ।

अनेरास्ववियुले देशभर बढ्दो चर्को भन्सार दर, अव्यवस्थित कर प्रणाली तथा त्यसका कारण दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुँदै गएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अत्यधिक भन्सार शुल्कका कारण बजारमा महँगी बढ्नुका साथै आम नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै खाद्यान्न, तरकारी, ग्यास, औषधिलगायत अत्यावश्यक सामग्रीमा समेत मूल्यवृद्धिको प्रत्यक्ष असर परेको बताएको छ।

ज्ञापनपत्रमा केही व्यापारीहरूले मनपरी मूल्य निर्धारण गर्ने, गुणस्तरहीन वस्तु बिक्री गर्ने तथा वस्तु भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिएको छ। यस्ता गतिविधिका कारण उपभोक्ता अधिकार प्रभावित भएको र सर्वसाधारण नागरिक थप मारमा परेको भन्दै बजार अनुगमनलाई नियमित तथा प्रभावकारी बनाउन माग गरिएको छ।

अनेरास्ववियुले कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीमाथि कडा कानुनी कारबाही गर्न, अत्यावश्यक वस्तुको आपूर्ति सहज र सर्वसुलभ बनाउन तथा भन्सार तथा कर नीतिको पुनरावलोकन गरी आम नागरिक र विद्यार्थीमैत्री व्यवस्था लागू गर्न सरकारसँग आग्रह गरेको छ। उच्च भन्सार दरका कारण विद्यार्थीहरूको दैनिक जीवनसमेत प्रभावित भएको उल्लेख गर्दै खाद्य सामग्रीजस्ता अत्यावश्यक वस्तुमा कम्तीमा विद्यार्थीलाई भन्सार छुटको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।

त्यसैगरी, हालै आएको भीषण हावाहुरी तथा वर्षाका कारण जिल्लाका विभिन्न विद्यालय भवनमा ठूलो क्षति पुगेको भन्दै अनेरास्ववियुले प्रशासनको ध्यानाकर्षण गराएको छ। प्राकृतिक विपत्तिका कारण विद्यालयका कक्षाकोठा, छाना, झ्यालढोका तथा अन्य भौतिक संरचनामा क्षति पुग्दा विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको र सुरक्षासमेत जोखिममा परेको ज्ञापनपत्रमा उल्लेख छ।

वर्षायाम नजिकिँदै गएकाले थप दुर्घटनाको सम्भावना बढेको भन्दै युनियनले क्षतिग्रस्त विद्यालय भवनको तत्काल स्थलगत निरीक्षण गरी मर्मत तथा पुनःनिर्माणका लागि आवश्यक बजेट तथा राहत उपलब्ध गराउन माग गरेको छ। साथै विद्यार्थीहरूको पठनपाठन अवरुद्ध हुन नदिने गरी वैकल्पिक व्यवस्था मिलाउन तथा प्राकृतिक विपत्तिबाट प्रभावित शैक्षिक संस्थाको संरक्षणका लागि दीर्घकालीन योजना तयार गर्न पनि अनुरोध गरेको छ।

संगठन विभाग प्रमुख खडकसिंह ठगुन्नाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमार्फत अनेरास्ववियु दार्चुलाले नागरिक र विद्यार्थीको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यी विषयमा सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?