यार्चागुम्बा सङ्कलनका लागि १३८ जनाले लिए अनुमति पत्र

दार्चुला । दार्चुलामा यार्चागुम्बा सङ्कलनका लागि हालसम्म १३८ जनाले अनुमति पत्र लिएका छन् ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाख अन्तिम सातादेखि यार्चागुम्बा सङ्कलनका लागि अनुमति पत्र वितरण सुरु गरेको थियो। आइतबारसम्म १३८ जनाले अनुमति पत्र प्राप्त गरेको कार्यालयका सूचना अधिकारी अरुण चौधरीले जानकारी दिनुभयो ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयसहित जिल्लाका ११ स्थानबाट अनुमति पत्र वितरण भइरहेको छ। हालसम्म वितरण भएका सबै अनुमति पत्र संरक्षण क्षेत्रभित्रका स्थानीयवासीलाई प्रदान गरिने निलो कार्ड रहेको चौधरीले बताउनुभयो ।

संरक्षण क्षेत्रले यार्चागुम्बा सङ्कलनका लागि तीन प्रकारका अनुमति पत्र वितरण गर्दै आएको छ। संरक्षण क्षेत्रभित्रका नागरिकलाई निलो कार्ड, दार्चुला जिल्लाभित्रका अन्य नागरिकलाई पहेँलो कार्ड र जिल्ला बाहिरका नागरिकलाई रातो कार्ड प्रदान गरिन्छ। निलो कार्डका लागि ५०० रुपैयाँ, पहेँलो कार्डका लागि २ हजार रुपैयाँ र रातो कार्डका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ।

यार्चागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्चागुम्बा पाइने पाटनहरू प्रत्येक वर्ष जेठ १५ गतेदेखि असार १५ गतेसम्म खुला रहने व्यवस्था छ। यद्यपि संरक्षण क्षेत्रभित्रका केही स्थानीयवासी भने वैशाख महिनादेखि नै पाटन क्षेत्रमा पुगेर सङ्कलन कार्यमा जुटेका छन्।

दार्चुलाका लोलु, अपीफेद, सतगंगा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे र दुम्लिङलगायतका क्षेत्रमा यार्चागुम्बा पाइने गरेको छ।

कार्यालयले अनुमति पत्र नलिई यार्चागुम्बा तथा अन्य जडीबुटी सङ्कलन नगर्न सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?