दार्चुला । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमका डाटा प्याकेज तथा डिजिटल सेवाहरू नेपाली भाषामा उपलब्ध गराउन माग गरिएको छ ।

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ को कार्यालयले सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमक्ष अनुरोध गर्दै नेपाल टेलिकमका डाटा प्याकेज, मोबाइल अफर, युएसएसडी मेनु, एसएमएस सूचना सेवा, मोबाइल एप तथा अन्य डिजिटल सेवाहरू अधिकांश रूपमा अंग्रेजी भाषामा मात्रै उपलब्ध हुँदा ग्रामीण क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक, विद्यार्थी तथा न्यून अंग्रेजी ज्ञान भएका सेवाग्राहीलाई सेवा उपयोग गर्न कठिनाइ भइरहेकोले नेपाली भाषामा उपलब्ध गराउन आग्रह गरेको हो ।

वडाध्यक्ष बल्देव सिंह बोहराद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपालको संविधानले नेपाली भाषालाई राष्ट्रभाषाको मान्यता दिएको तथा सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र समावेशी बनाउनुपर्ने दायित्व राज्यको भएकाले सरकारी स्वामित्वका संस्थाबाट प्रवाह हुने सेवाहरू नेपाली भाषामा समेत उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमार्फत वडा कार्यालयले नेपाल टेलिकमका सम्पूर्ण डाटा, भ्वाइस र एसएमएस प्याकेजसम्बन्धी जानकारी नेपाली भाषामा उपलब्ध गराउन, युएसएसडी मेनु, एसएमएस सूचना, मोबाइल एप र वेबसाइटमा नेपाली भाषा विकल्प समावेश गर्न, ग्राहक सेवा तथा स्वचालित सूचना प्रणालीलाई नेपाली भाषामै सञ्चालन गर्न तथा सरकारी डिजिटल सेवामा नेपाली भाषालाई प्राथमिकता दिने नीतिगत व्यवस्था गर्न माग गरेको छ।

वडा कार्यालयले मन्त्रालयस्तरबाट आवश्यक निर्देशन, सहजीकरण र पहल गरी नागरिकमैत्री, समावेशी तथा मातृभाषामैत्री डिजिटल सेवा प्रवाह सुनिश्चित गर्न आग्रह गरेको छ। ज्ञापनपत्रमा ग्रामीण क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी सूचना तथा सेवाको प्रस्तुतीकरण सरल र सहज नेपाली भाषामा हुनुपर्नेमा समेत जोड दिइएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?