बजेटमा सुदूरपश्चिमः विभिन्न महत्वाकांक्षी कार्यक्रम घोषणा, बजेट कतै तोकिएन

दार्चुला । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत सुदूरपश्चिम प्रदेशका लागि विभिन्न महत्वाकांक्षी कार्यक्रम घोषणा गरिए पनि ती कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको स्पष्ट व्यवस्था भने सार्वजनिक गरिएको छैन।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणका क्रममा सुदूरपश्चिम केन्द्रित १६ वटा कार्यक्रम घोषणा गर्नुभएको छ । तर अधिकांश कार्यक्रमका लागि कति रकम विनियोजन गरिएको हो भन्ने विषयमा बजेट भाषण मौन देखिएको छ।

पूर्वाधार विकासअन्तर्गत महाकाली करिडोरको दार्चुला–तिङकर सडक खण्डको ट्र्याक खोल्ने कार्यलाई प्राथमिकता दिइने, सेती करिडोर निर्माण तथा स्तरोन्नति गरिने र खुटिया–दीपायल फास्ट ट्र्याकको स्तरोन्नतिलाई तीव्रता दिइने उल्लेख छ।

घोषित कार्यक्रममध्ये धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई हजार दर्शक क्षमताको इन्डोर मल्टीपर्पोज स्टेडियम निर्माण गर्ने योजना समावेश छ। साथै फाप्ला क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी आवश्यक लगानी यकिन गरेर निर्माण कार्य अघि बढाइने उल्लेख गरिएको छ।

स्वास्थ्य क्षेत्रतर्फ कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित चिकित्सा शिक्षाका चार कार्यक्रम सञ्चालन गरिने घोषणा गरिएको छ।

पर्यटन प्रवर्द्धनका लागि रामारोशन–खप्तड–बडिमालिका–शैलेश्वरी–उग्रतारा–मालिकार्जुन क्षेत्र समेटेर विशिष्ट पर्यटन कार्यक्रम सञ्चालन गरिने भएको छ। यस्तै खप्तड–बडिमालिका–शुक्लाफाँटा प्रादेशिक पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने तथा खप्तड–बडिमालिका–बुढीनन्दा क्षेत्रलाई रारासँग जोड्ने पर्यटन कार्यक्रम पनि बजेटमा समेटिएको छ।

सिँचाइ तथा जलस्रोत क्षेत्रमा महाकाली सिँचाइ आयोजनाको कमान्ड क्षेत्रको पूर्वाधार विकास, रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको लम्की क्षेत्रको पूर्वाधार विकास तथा महाकाली नदी व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ।

ऊर्जा क्षेत्रतर्फ २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

यसैगरी कञ्चनपुरको बेलौरी र टाउन क्षेत्रमा बजार ढल प्रशोधन केन्द्र निर्माण, सुदूरपश्चिममा गुणस्तरीय टेलिफोन सेवा विस्तार तथा कञ्चनपुरको दोधराचाँदनीमा दुई वर्षभित्र एकीकृत जाँच चौकी निर्माण गर्ने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ।

सामाजिक तथा सामुदायिक विकासअन्तर्गत सघन दलित बस्ती लक्षित नमुना होमस्टे सञ्चालन गर्ने घोषणा गरिएको छ।

यद्यपि घोषणा गरिएका अधिकांश कार्यक्रमका लागि कति बजेट विनियोजन गरिएको छ भन्ने विषय बजेट भाषणमा स्पष्ट नखुलेको भन्दै कार्यान्वयन क्षमतामाथि प्रश्न उठ्न थालेको छ। स्थानीय सरोकारवालाहरूले घोषणा गरिएका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट बजेट, समयसीमा र कार्ययोजना आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?