दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीमा रहेको ऐडिबाग मन्दिरमा हरेक वर्ष बडादशैँको अवसरमा रातभरी जात्रा लाग्ने गरेकोमा यो वर्षदेखि दिउँसो जात्रा लगाउने निर्णय अनुसार जात्रा सम्पन्न भएको छ । मेला तथा जात्रा राती लगाउदा विभिन्न बिकृति र असुरक्षा बढेको भन्दै सरोकारवालाहरुको सल्लाहमा मन्दिर व्यवस्थापन समितिले जात्रा दिउँसो लगाउने निर्णय गरेको थियो ।
विजयादशमीको अवसरमा सोमबार दिनभरी पुजन जात्रा लगाएर बेलुकी समापन गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष राधापल्लब जोशीले जानकारी दिनुभयो । कोरोना भाईरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरेर स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै भक्तजनहरुले पुजाआजा गरेका छन् । राती जात्रा लगाउदा अध्यारोका कारण लड्ने वा चोटपटक लाग्ने जोखिम हुने, मदिरा सेवन गरेर होहल्ला तथा झैझगडा हुने, गाउँ बाहिरका मान्छेहरु समेत उपस्थित भएर जुवातास खेल्ने, खेलाउने र महिला तथा बालबालिकाहरुमाथि दुव्र्यवहारका घटनाहरु हुनसक्ने लगायत विकृति र भौतिक असुरक्षालाई मध्यनजर गर्दै जात्रा दिनमा लगाउने निर्णय गरिएको थियो ।
यो वर्ष कोरोनाका कारण जात्रामा हुने पुजाआजा बाहेकका कार्यक्रम भने नगरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रामा डेउडा लगायत खेलहरु खेल्ने, दामाहा लगायत बाजागाजा बजाउने लगायत भिडभाड हुने गतिविधिहरु बाहेक पुजाआजा र टिका प्रदान तथा ग्रहणको कार्यक्रम मर्यादित ढंगले सम्पन्न भएको मन्दिरका भरणे एबं व्यवस्थापन समिति अध्यक्ष जोशीले बताउनुभयो । कोरोना बाट आफु बच्न र अरुलाई पनि बचाउन मास्कको अनिवार्य प्रयोग, सामाजिक दुरी र सरसफाईमा विशेष ध्यान दिन सबै भक्तजनहरुलाई आग्रह गरिएको थियो ।
कोरोना भाइरस नियन्त्रणमा आए अगामी वर्षदेखि दिउँसो भव्यताका साथ जात्रा लाग्ने बताइएको छ ।
जात्रा दिनमा लगाउने र कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पुजाआजा गर्ने निर्णय वर्तमान समयमा निकै महत्तपुर्ण र स्वागतयोग्य भएको भन्दै धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । जात्रा राती लगाउदा अनेक विकृति र असुरक्षा बढेकोले जिल्लाका अरु मन्दिरहरुमा पनि राती लाग्ने जात्रा बन्द गरेर दिउँसोको समयमा लगाउनु उपयुक्त हुने लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो । ऐडिबाग मन्दिरबाट राम्रो कामको शुरुवात भएकोले अरु ठाउँमा समेत यसको सिको हुनुपर्ने उहाँको भनाई छ ।
लटिनाथ नमुना माबि चौपाताका प्रधानाद्यापक केशबराज बिष्टले पनि ऐडिबाग मन्दिरले दिउँसो जात्रा लगाएकोमा खुसी व्यक्त गर्दै अरु मन्दिरहरुमा समेत यसको सिको हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । लटिनाथ मन्दिर जयपुर र मालिकार्जुन मन्दिरमा पनि दिउँसो जात्रा लगाउने उहाँले बताउनुभयो । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उहाँले राम्रो कामको सुरुवात आठोला परिवारबाट भएकोमा आभार व्यक्त भएको छ । राती लाग्ने जात्रालाई दिउँसो लगाउने सुरुवात भएपछि सबैजसोले मुक्तकण्ठले स्वागत तथा धन्यबाद व्यक्त गरेका छन् ।
ऐडिबाग मन्दिर मैखोलीमा समेत गत विगत वर्षहरुमा राती लाग्ने दशै जात्रामा साना तिना अप्रिय तथा उछिङ्खल गतिविधि हुने गरेकोमा यो वर्ष दिउँसो एकदमै मर्यादित र शान्तिपुर्ण वातावरणमा जात्रा सम्पन्न भएको भरणे ईन्द्रदेब जोशीले बताउनुभयो । राम्रो कामको शुरुवात गर्न हौसला प्रदान गर्ने लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशी लगायत सबै आफन्त, ईष्टमित्र र शुभचिन्तकहरुमा उहाँले धन्यबाद व्यक्त गर्नुभएको छ ।





