दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले समयतालिका अनुसार सेवा प्रबाह गर्ने निर्णय गरेको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गरि भीडभाड न्युनीकरण गर्ने उद्देश्यले समय तालिका अनुसार सेवा प्रबाह गर्न लागिएको प्रशासनले जनाएको छ ।

सोमबारदेखि लागु हुनेगरी समय कार्यतालिका सार्वजनिक गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । यसअघि पनि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै समय तालिका अनुसार सेवा प्रबाह गरिएको थियो । सोमबार देखि फेरी समय कार्यतालिका अनुसार सेवा प्रवाह गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

भीडभाडबाट हुन सक्ने संक्रमणको जोखिमलाई कम गर्न प्रशासनले फरक–फरक स्थानीय तहका सेवाग्राहीहरुलाई बार अनुसार सेवा प्रबाह गर्ने भएको हो । जसअनुसार एक दिनमा तीन स्थानीय तहका सेवाग्राहीलाई मात्रै सेवा प्रवाह हुने छ ।

आइतबार र सोमबार महाकाली नगरपालिका, दुहुँ गाउँपालिका र ब्याँस गाउँपालिकाका सेवाग्राहीहरुलाई सेवा प्रबाह गरिने छ । यस्तै मंगलबार र बुधबार शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका सेवाग्राहीहरुलाई मात्र सेवा प्रबाह गरिनेछ । त्यस्तै विहीबार र शुक्रबार मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र अपिहिमाल गाउँपालिकाका सेवाग्राहीहरुलाई मात्र सेवा प्रबाह गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रशासनले बार अनुसार सेवा दिन थालेपछि एक स्थानीय तहका सेवाग्राहीले हप्तामा दुई दिन मात्रै सेवा लिन पाउनेछन् ।

यसैगरी प्रशासनले कर्मचारीहरुको कार्य क्षेत्र विभाजन गरेको छ । नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी र नाबालक परिचय पत्रका लागि राकेश सिंह ठगुना र हातहतियार दर्ता नवीकरण, संघ–संस्था दर्ता नवीकरण, पत्र पत्रिका दर्ता सम्बन्धी कार्य सागर जोशी र पदमराज भट्टलाई सम्पर्क व्यक्ति तोकिएको जिल्ला प्रशासन दार्चुलाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

जोखिमपूर्ण मानवीय तथा घर पूर्ण क्षति जस्ता विपदका घट्ना बाहेक अन्य विपद् कार्यका लागि सम्बन्धित स्थानीय तह वा वडा कार्यालय मार्फत कारबाही गरिने र वडा तथा स्थानीय तहबाटै सेवा प्रबाह गरिने जनाइएको छ । नागरिकता र नाबालक परिचय पत्र बनाउन आउदा सम्बन्धित व्यक्ति र सनाखत गर्ने व्यक्ति तथा प्रतिलिपिका लागि निवेदक मात्रै उपस्थित हुन प्रशासनले सबैलाई आग्रह गरेको छ ।

सेवाग्राहीले नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरेर मात्रै प्रशासनमा उपस्थित हुनुपर्ने सूचनामार्फत जनाइएको छ ।

यसैबिच जिल्ला प्रशासन कार्यालय दार्चुलाले आधा दर्जन किसिमका सेवाहरु अनलाइनबाटै प्रदान गर्ने भएको छ । कोरोना महामारीको उच्च जोखिमलाई मध्यनजर गर्दै आधा दर्जन सेवाहरु जिल्ला प्रशासन कार्यालयमा उपस्थित नभईकनै पनि लिन सकिने व्यवस्था गरिएको हो । प्रशासन कार्यालयले तोकेका सेवाहरु कार्यालयको इमेल ठेगनामा निबेदन दिए अनलाइन माध्यमबाटै प्रदान गरिनेछ ।

शान्ती सुरक्षा, सिफारिस सम्बन्धी कार्य, आदिबासी, जनजाति, दलित सिफारिस, अन्य सिफारिस सम्बन्धी कार्यहरु, बाढी पहिरो पीडित प्रमाणित, व्यहोरा प्रमाणित तथा अन्य प्रमाणित लगायत सेवाहरु अनलाइनबाटै प्रवाह हुनेछन् । राहत सिफारिस, राहत रकम वितरण, द्धन्द्ध पीडित, संघ–संस्था, पत्रपत्रिका सम्बन्धी कार्य र गुनासो÷उजुरी सम्बन्धी कार्य पनि अनलाइनबाटै प्रदान गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?