दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले कोरोना भाइरसको संक्रमण जोखिम रहेकोले समयतालिका अनुसार सेवा प्रबाह गर्न थालेको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गरि भीडभाड न्युनीकरण गर्ने उद्देश्यले समय तालिका अनुसार सेवा प्रबाह गर्न थालिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।
भीडभाडबाट हुन सक्ने संक्रमणको जोखिमलाई कम गर्न प्रशासनले फरक–फरक स्थानीय तहका सेवाग्राहीहरुलाई बार अनुसार सेवा प्रबाह भइरहेको हो । जसअनुसार एक दिनमा तीन स्थानीय तहका सेवाग्राहीलाई मात्रै सेवा प्रवाह भइरहेको छ ।
आइतबार र सोमबार महाकाली नगरपालिका, दुहुँ गाउँपालिका र ब्याँस गाउँपालिकाका सेवाग्राहीहरुलाई सेवा प्रबाह भइरहेको छ । मंगलबार र बुधबार शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका सेवाग्राहीहरुलाई मात्र सेवा प्रबाह भइरहेको छ ।
विहीबार र शुक्रबार मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र अपिहिमाल गाउँपालिकाका सेवाग्राहीहरुलाई मात्र सेवा प्रबाह भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । प्रशासनले बार अनुसार सेवा दिन थालेपछि एक स्थानीय तहका सेवाग्राहीले हप्तामा दुई दिन मात्रै सेवा लिन पाइरहेका छन् । यद्धपी अत्यावश्यक काममा भने बैकल्पीक व्यवस्था गरेर सेवा प्रवाह भइरहेको छ ।
प्रशासनले नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी र नाबालक परिचय पत्रका लागि राकेश सिंह ठगुना र हातहतियार दर्ता नवीकरण, संघ–संस्था दर्ता नवीकरण, पत्र पत्रिका दर्ता सम्बन्धी कार्य सागर जोशी र पदमराज भट्टलाई सम्पर्क व्यक्ति तोकेको छ ।
जोखिमपूर्ण मानवीय तथा घर पूर्ण क्षति जस्ता विपदका घट्ना बाहेक अन्य विपद् कार्यका लागि सम्बन्धित स्थानीय तह वा वडा कार्यालय मार्फत कारबाही गरिने र वडा तथा स्थानीय तहबाटै सेवा प्रबाह गर्ने काम भइरहेको बताइएको छ ।
नागरिकता र नाबालक परिचय पत्र बनाउन आउदा सम्बन्धित व्यक्ति र सनाखत गर्ने व्यक्ति तथा प्रतिलिपिका लागि निवेदक मात्रै उपस्थित हुन प्रशासनले सबैलाई आग्रह गरेको छ ।
सेवाग्राहीले नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरेर मात्रै प्रशासनमा उपस्थित हुन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
कोरोना महामारीको उच्च जोखिमलाई मध्यनजर गर्दै आधा दर्जन बढी सेवाहरु जिल्ला प्रशासन कार्यालयमा उपस्थित नभईकनै पनि लिन सकिने व्यवस्था गरिएको छ । प्रशासन कार्यालयले तोकेका सेवाहरु कार्यालयको इमेल ठेगनामा निबेदन दिए अनलाइन माध्यमबाटै प्रदान गरिने जनाइएको छ ।
सेवा प्राप्तिका लागि आवश्यक पर्ने कागज पत्रहरुका बारेमा सुनिश्चित गरेर मात्र सिफारिस गर्न स्थानीय तहलाई समेत जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।
हेर्नुहोस जिल्ला प्रशासन कार्यालय दार्चुलाको सेवा प्रवाह सम्बन्धि सूचना


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




