दार्चुला । खानेपानीको चरम अभाव भोगिरहेका लेकम गाउँपालिका वडा नम्बर २ कुणी, कुसकाडा लगायत विभिन्न बस्तीमा खानेपानी पुर्याउन लागु भएको आयोजना निर्माणमा ढिलाइ भइरहेको छ ।
प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाको पहलमा खानेपानी तथा ढल व्यवस्थापन विभाग, जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाबाट प्राप्त तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरबाट सञ्चालित चमेलिया खानेपानी आयोजना कुणी कुसकाडामा जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाको निर्देशिका बमोजिम कुल लागत अनुमानको एक प्रतिषत रकम जम्मा गर्न ढिलाई हुदा आयोजनाको निर्माण कार्य अघि बढ्न सकेको छैन् । उपभोक्ता वा स्थानीय तहले एक प्रतिषत रकम जम्मा नगरेकै कारण निर्माण कार्यमा ढिलाइ हुनुका साथै २५ करोड रकम समेत रकमान्तर हुने जोखिम बढेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग, जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरलाई कार्तिक १९ गते उपभोक्ता समिति र आयोजनाको नाममा खाता खोलि एक प्रतिषत रकम यहि मंसिर महिना भित्र जम्मा नगरे अन्य आयोजनामा बजेट रकमान्तर हुने आशयको पत्र पठाएको छ । विभागको पत्र प्राप्त भएपछि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरले चमेलिया खानेपानी आयोजना कुणी, कुसकाडा दार्चुलाको विस्तृत लागत अनुमान तयार भई लागत अनुमान रु २४ करोड ९८ लाख सात हजार ५५७ कायम भएकोले एक प्रतिषत रकम मंसिर २० गतेभित्र अनिवार्य खातामा हाल्न लेकम गाउँपालिकालाई पत्राचार गरेको छ ।
लागत अनुमानको एक प्रतिषतले हुन आउने रकम २४ लाख ९८ हजार ७५ रुपैँया मंसिर २० गते भित्र उपभोक्ता समिति र आयोजनाको नाममा संयुक्त खाता खोली रकम जम्मा गरी बैंक भौचर उपलब्ध गराउन अनुरोध गरेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरका प्रमुख किरण आचार्यले बताउनुभयो ।

जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाको निर्देशिका बमोजिम खानेपानी तथा उपभोक्ता समिति संग सम्झौता गरी लागत अनुमानको एक प्रतिषत आयोजना कार्यालय र उपभोक्ताको संयुक्त खातामा जम्मा भएको बैंक भौचर मंसिर मसान्तसम्म आयोजना व्यवस्थापन कार्यालयमा पठाउन विभागले आयोजनालाई पत्राचार गरेको छ । मंसिर भित्र बैंक भौचर विभागमा नपुगे विद्यमान बहुबर्षिय ठेक्का सम्बन्धि निर्देशिका बमोजिम बहुबर्षिय खरिद योजना स्वीकृतिको सन्दर्भमा चालु आर्थिक वर्षमा विनियोजित बजेट अन्य सम्भाबित आयोजनामा रकमान्तर गर्न सकिने खानेपानी तथा ढल व्यवस्थापन विभागका पानीपोखरी काठमाण्डौँका आयोजना प्रमुख सूर्यराज कडेलले बताउनुभयो ।
आयोजनाको पत्र प्राप्त भएकोले तिहारपछि गाउँकार्यपालिका र उपभोक्ता समितिसंग छलफल गरेर एक प्रतिषत रकम जम्मा गर्ने पहल भइरहेको लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो । चमेलिया खानेपानी आयोजना कुणी कुसकाडामामा शुरु देखि नै उपभोक्ता समिति गठनमा विवाद भएपछि कार्यान्वयनमा ढिलाई भइरहेको छ । लामो समयको प्रयासपछि पाप्त आयोजना निर्माणमा तिब्रता दिन स्थानीयले माग गरेका छन् ।
गाउँमा खानेपानीका मुल नहुदा कुणी, कुसकाडा क्षेत्रमा अधिकासं समय खानेपानीको हाहाकार हुने गरेको छ । सिचाई वा अन्य प्रयोजनका लागि त परै जाओस पिउन समेत खानेपानी अभाव रहेको स्थानीयको गुनासो छ । आयोजना छिटो निर्माण गरेर खानेपानीको समस्या समाधान गरिदिन स्थानीयहरुले सरोकारवालाहरुलाई अनुरोध गरेका छन् । खानेपानी अभावमा स्थानीयले पिठ्युमा घण्टौँ खानेपानी बोकेर जोहो गर्नुपरेको छ ।




