दार्चुला । शैल्यशिखर नगरपालिकामा तालाबन्दी गरिएको छ । सात महिना पहिले क्वारेन्टाइनमा काम गरेका स्वयमसेवकहरुले भत्ता नपाएको र भत्ताका लागि पटकपटक आग्रह गर्दा समेत सुनुवाई नभएको भन्दै आफुहरुले ताला लगाएको स्थानीय प्रकाश बिष्टले जानकारी दिनुभयो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थापन गरिएका क्वारेन्टाइनहरुमा काम गरेका स्वयमसेवकहरुको भत्ता दिन १० दिन देखि अनुरोध सहितको जानकारी दिदा समेत सुनुवाइ नभएपछि आज कार्यालयका कर्मचारीहरुलाई भित्रै थुनेर नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको उहाँले बताउनुभयो । तालाबन्दी गर्ने पक्षले निमित्त प्रमुख प्रशासकिय अधिकृत शुरेन्द्र बहादुर बिष्टले अपशब्द समेत प्रयोग गरेको आरोप लगाएका छन् ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत बिष्टले भने आफुले अपशब्द प्रयोग गरेको आरोपमा सत्यता नभएको बताउदै आज लेखापाल कार्यालयमा उपस्थित नभएकोले तिहार पछि भुक्तानी हुने कुरा उहाँहरुलाई जानकारी गराउदा आक्रोशित भएर ताला लगाएको बताउनुभयो । लेखापाल आएपछि काम गरेका स्वयमसेवकहरुको पैसा भुक्तानी गरिने नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख अमरसिह धामी कार्यालयमा नपुगेको र नगरप्रमुखले कार्यालयमा पुगेपछि तालाबन्दी खोल्ने बिषयमा दुबै पक्षबिच छलफल गरिने बताइएको छ ।




