दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्कर गाउँमा हिमपात भएसंगै सौका समुदाय दार्चुला सदरमुकाम खलंगा झर्न थालेका छन् । आइतबार राति देखि हिमपात भएर गाउँमा हिउँ जमेको स्थानीय योगेश बोहराले जानकारी दिनुभयो । हिमाली क्षेत्र र डाडाकाडामा अत्यधिक हिउँ परेको छ ।
हिउँ पर्न थालेपछि चिसो निकै बढेको छ, स्थानीय बोहराले भन्नुभयो, चिसो बढेसँगै तिङ्करका स्थानीय बुधबार खलंगाका लागि प्रस्थान गरेका छन् । नेपालतर्फको तम्बाकु भीरमा बाटो नखुल्दा भारतीय बाटो हुँदै सौका समुदायको बसाईसराई (कुञ्चा) खलंगा झर्न लागेको हो । छाङरुको कुञ्चा भने मङ्सिर १९ गते मात्रै खलंगा झर्ने तयारी भएको स्थानीय जितसिह बोहराले बताउनुभयो । स्वदेशतर्फ बाटो नहुदा भारतीय बाटो हुँदै सदरमुकाम झर्न लागेका सौका समुदायको लागि सीमानाका खोल्ने सहमति भएको छ ।

गत चैत देखि नेपाल भारत सीमा नाका बन्द छन् । गत जेठमा पनि व्यासीहरु स्वदेशबाट गाउँ पुग्ने बाटो नहुदा भारतीय भूमी प्रयोग गरेरै छाङरु र तिङ्कर उक्लिएका थिए । नेपाल सरकारले नेपाली सेनामार्फत घाँटीबगरदेखि छाङरुसम्मको ५५० मिटर घोडेटो बाटो खुलाएको भएपनि तम्बाकु भीरमा बाटो नखुल्दा व्यासबासीले भारतकै बाटो प्रयोग गरेर सदरमुकाम आउनुपर्ने बाध्यता रहेको स्थानीय बिनोद तिकंरीले बताउनुभयो । मङ्सिर ३ गते तिङ्करबाट हिडेका झण्डै ६० परिवार व्यासी ६ दिनको यात्रापछि मङ्सिर ८ गते मात्रै खलंगा पुग्नेछन् । यस्तै एक सय बढी परिवार मङ्सिर १९ गते छाङरुबाट हिडेर २४ गते खलंगा पुग्नेछन् ।
नेपालतिरको कल्जुदेखि तम्बाकु भीरसम्म बाटो अप्ठ्यारो छ । पशु चौपायासहित कुञ्चा आउन सक्ने अवस्था नभएपछि भारतीय पक्षसँग समन्वय गरेर भारतीय बाटोको प्रयोग गर्दै व्यासबासी खलंगा आउन लागेका हुन । व्यासीहरुलाई नेपाल प्रवेश दिनका लागि दुई दिन खलंगास्थित नेपाल भारत सीमापुल खोल्ने सहमति भएको छ ।

व्यासीहरु अहिले खेतीपाती लगाएर खलंगा झर्न थालेका छन् । व्यासीहरु छांगरुको गागाबाट सितापुल पार गरेर खलंगा आउने छन् । उनिहरु पशु चौपायासहित छांगरुबाट पहिलो दिन गव्र्याङ, दोस्रो दिन लामारी, तेस्रो दिन निजाङ, चौथो दिन गर्वाधार, पाचौ दिन एलागाड हुँदै छैटौं दिनमा सदरमुका खलंगा पुग्ने गर्छन् ।
समुद्री सतहबाट १२ हजार फिट उचाईमा रहेको व्यासमा अत्यधिक हिमपात हुने भएका कारण हिउदमा जाडो छल्न बेसी झर्नुपर्ने स्थानीयको बाध्यता छ । यहाँका स्थानीय कुञ्चा सर्दा लालाबालासहित, पशुचौपाया, खाद्यान्न, लुगाकपडा र भाडाकुडासहित आउने गर्छन् । कात्तिकमा खेतीपाती लगाएर बेसी झर्ने व्यासीहरु हरेक वर्ष बैशाख अन्तिम साता खेतीपाती भित्र्याउन गाउँ उक्लने गर्दछन् ।
स्थानीय वर्षको एक पटक उवा, नप्पल, तिते फापर, पल्ती र आलु जस्ता बाली लगाउने गर्छन् । यस क्षेत्रमा बसोबास गर्ने स्थानीयको मुख्य पेशा कृषि र व्यापार हो । व्यासको वडा नम्बर १ मा मात्रै झण्डै एक सय ७० परिवारको बसोबास रहेको छ । परापूर्वकालदेखि नै व्यासीहरुको दोहोरो बसाई हुँदै आएको स्थानीय नगेन्द्र तिकंरीले बताउनुभयो । व्यासीहरुको घर, जमिन सदरमुकाम खलंगामा समेत छ ।

दुई दशकदेखि हरेक वर्ष व्यासी समुदाय भारतीय बाटोको प्रयोग गरेर बसाईसराई गर्दै आएका छन् । पञ्चायती कालमा नेपालतिरको घोरटो बाटो हुदै कैलाश मानसरोवर तिर्थ यात्रा र व्यापारको लागि तिब्बतसम्म जान सकिन्थ्यो । द्धन्दकालदेखि भत्किएको उक्तबाटो राम्रोसंग पुननिर्माण नभएपछि व्यासबासीले भारतीय भूमिको प्रयोग गरेर गाउँसम्म आवतजावत गर्नुपरेको छ ।
मुलुकमा लोकतन्त्र स्थापनापछि बाटो निर्माण तथा मर्मतको नाममा बर्षेनी करोडौँ बजेट खर्च भएपनि पुरै बाटो अहिलेसम्म मर्मत भएको छैन् । पछिल्लो दुई वर्षयता मात्रै संघीय सरकार, प्रदेश सरकार, महाकाली नदी नियन्त्रण आयोजना, व्यास गाउँपालिका लगायतका कार्यालयबाट करोडौँ बजेट खर्च भइरहेको छ ।
यसैबिच व्यास गाउँपालिका–१ छाङरु र तिङ्करमा अत्याधिक हिमपात भएपछि छाङरुमा रहेको नेपाल टेलिकमको सिडिएमए (स्काई) फोन सेवा अवरुद्ध भएको छ । हिमपातले सोलार सिस्टम ढाकेपछि फोन सेवा अवरुद्ध भएको हो ।









प्रतिक्रिया