दार्चुला । दार्चुला र बैतडीका अधिकासं स्थानीय तहमा विद्यालयहरु सञ्चालन भएका छन् । दार्चुलाको शैल्यशिखर र बैतडीको दोगडाकेदार गाउँपालिकामा आजदेखि नियमित पठनपाठन शुरु भएको छ ।
कोरोना कहरका कारण चैत देखि बन्द रहेका विद्यालयहरु विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सञ्चालन गरिएको सम्बन्धित स्थानीय तहहरुले बताएका छन् ।
यसैबिच शैल्यशिखर नगरपालिकाका विद्यालयहरुमा शिक्षक दरबन्दी मिलान गरिने भएको छ । विद्यालयहरुमा विद्यार्थीको संख्याका आधारमा शिक्षक दरबन्दी मिलान गरिने नगरप्रमुख अमरसिंह धामीले बताउनुभयो ।
शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यदलको बैठकले नगरपालिकाभरीका विद्यालयहरुका शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन गर्ने निर्णय गरेको हो । विद्यालयमा शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन विद्यार्थीहरुको संख्याका आधारमा हुने भएकाले तथ्यांक उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरिएको बताइएको छ ।
शिक्षक दरबनदी मिलान तथा व्यवस्थापन कार्यदलका संयोजक एवं नगर प्रमुख अमरसिंह धामीको अध्यक्षतामा बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको नगरकार्यपालिका सदस्य नवीन पार्कीले जानकारी दिनुभयो ।
२०७५ देखि हालसम्मको विद्यार्थी संख्या, शिक्षक दरबन्दी संख्या सहितको विवरण मंसिर १५ गतेभित्र नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखामा पेश गर्न पत्राचार गर्ने निर्णय गरिएको पार्कीले बताउनुभयो ।
शैल्यशिखर नगरपालिकाले शिक्षक अभावलाई कम गर्न डेढ सयको हाराहारीमा नगर शिक्षकहरुको व्यवस्थापन समेत जनाएको छ ।





प्रतिक्रिया