बैतडीको डिलाशैनी गाउँपालिकास्थित एक प्रहरीचौकीमा कार्यरत सबै अर्थात ९ जना प्रहरी र थप एक जना स्थानीय गरी १० जनामा कोरोना पुष्टि भएको छ ।
शुक्रबार डडेल्धुरा अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ स्थित सिमार प्रहरीचौकीमा कार्यरत ९ जना प्रहरीमा कोरोना पुष्टि भएको हो । प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक सहित ९ जनामै कोरोना कोरोना पुष्टि भएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीचौकीमा कार्यरत सबै प्रहरीमा कोरोना देखिएपछि चौकीलाई नै आइसोलेसनको रुपमा प्रयोग गरिएको उहाँले बताउनुभयो । यस्तै कोरोना पुष्टि भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने समान्य रहेको छ । यस्तै शुक्रबार नै डिलाशैनी गाउँपालिका वडा नम्बर ३ का एक ३० वर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ ।
यो संगै बैतडीमा कोरोना संक्रमितको संख्या ५३३ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ३८ रहेको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १८, डिालाशैनी गाउँपालिकामा १०, पुर्चौंडी नगरपालिकामा ४ र सुर्नया, पञ्चेश्वर र दोगडाकेदारमा १÷१ जना रहेका छन् ।
यसैबिच दशरथचन्द नगरपालिकाभित्र १० दिनका लागि लकडाउन गरिने भएको छ । नगरकार्यपालिकाको शुक्रबार बसेको बैठकले भोली शनिबारदेखि मंसिर २२ गते सम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो ।
नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय संक्रमित रहेका र नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिनुभयो । लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइनेछ । यस्तै अतिआवश्यक बाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको छ ।
यसैगरी रुखाखोकी, ज्वरोका बिरामीहरुले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्नुपर्ने, नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ ।
यस्तै नगर क्षेत्रभित्रका बैंक तथा बित्तीय संस्थाहरुले हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा प्रवाह गर्ने, नगर क्षेत्रभित्र रहेका संघीय र प्रदेश सरकार मातहतका कार्यालय बन्द गर्न अनुरोध गर्ने, परीक्षा बाहेक सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने, बिवाहमा १० जना मात्रै सहभागी हुन दिने लगायतका निर्णय गरेको छ ।
यस्तै धार्मिक स्थल तथा मन्दिरमा नित्यपूजा बाहेक भीडभाड हुने खालका सबै मेला तथा पर्वमा रोक लगाउने निर्णय समेत भएको छ । लकडाउनको अवधिमा औषधि पसल खोल्न पाइनेछ भने एम्बुलेन्स सञ्चालन गर्न पाइने छ ।




