दार्चुला र बैतडीका विभिन्न शक्तिपिठहरुमा लाग्ने जात्राहरु यो वर्ष सम्पन्न भएका छन् ।

दशै र द्धितिया तिथीबाट दार्चुलाको लेकम क्षेत्रमा शुरु भएका जात्रा पूर्णिमाको दिन सोमबार (आज) सम्पन्न भएका हुन् । पुर्णिमाको अवसरमा लेकम गाउँपालीकाको गल्बाव मन्दीर पाती, भगवती मन्दीर कुणी महामाही लगायत स्थानमा अन्तीम जात्रा लागेको छ ।

यसअघि द्धितिया तिथिमा लटिनाथ मन्दिर मैखोली, बन्तोली लगायत शक्तिपिठ, अष्ठमी तिथिमा हुनैनाथ मन्दिरहरु, नवमी तिथिमा जयपुर मन्दिर, त्रियोदशी तिथिमा शैल्यशिखर पुजन जात्रा र चतुर्दशी तिथिमा मालिकार्जुन मन्दिरहरुमा जात्रा सम्पन्न भइसकेका छन् ।

यो वर्ष कोरोना भाइरसको जोखिमका कारण जात्राहरुमा विगत वर्षहरुको जस्तो भिडभाड र गतिविधिहरु भएका छैनन् । स्वास्थ्य सुरक्षालाई ख्याल गरेर पुजाआजाका कार्यक्रमहरु मात्रै गरिएको सम्बन्धित मन्दिर व्यवस्थापन समितिहरुले जनाएका छन् । केहि मन्दिरहरुमा भने विगतको जस्तै जात्रा लागेको छ । यद्धपी राती लाग्ने जात्रा विभिन्न विकृति बढेको भन्दै अधिकासं मन्दिरहरुमा दिउँसो लगाउन थालिएको छ । यो वर्षदेखि दार्चुलाका प्रमुख धार्मीक शक्तिपिठहरुमा दिउँसो जात्रा लागेको छ । दार्चुलाको लेकमा क्षेत्रमा दशै तिहार भन्दा पनि जात्रालाई बढी महत्व दिइने गरेको छ ।

बैतडीको दुईओटा प्रसिद्ध भगवती मन्दिरमा पनि बलिसहित आज जात्रा सम्पन्न भएको छ । मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिर र सुर्नया गाउँपालिका रौलेश्वरस्थित फाल्ङासैनी भगवती मन्दिरमा बलिसहित जात्रा सम्पन्न भएको हो । यी दुवै शक्तिपीठहरुमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने गर्दछ ।

स्थानीय प्रशासनले कोरोना भाईरसको जोखिमका कारण मेलापर्वमा रोक लगाएको भएपनि स्थानीयहरुले सांस्कृतिक परम्परा नछोड्ने भन्दै बलिसहित जात्रा मनाएका हुन् । हरेक बर्ष बलिसहित जात्रा हुने भएकाले भाकल गरेकाहरुले जात्रा रांगा र बोकाको बलि गरेका छन् । मेलौली भगवती मन्दिरमा ७१ रांगाको बलि गरिएको छ भने फाल्ङासैनी भगवती मन्दिरमा ८ रांगाको बलि गरिएको स्थानीयहरुले बताएका छन् ।





प्रतिक्रिया