राष्ट्रिय परीक्षा बोर्डले नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम भर्नुअघिसम्म कक्षा ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयहरूलाई निर्देशन गरेको छ । त्यसअघि विद्यालयले आफ्नो आन्तरिक कार्यतालिका अनुसार परीक्षा गर्न सक्नेछन् ।
पुरानो शैक्षिक सत्रको कक्षा १२ को परीक्षा झण्डै आठ महिनापछि भएकाले नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यस्तो गृहकार्य गरिएको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षाको अन्तिम फाराम भर्नुअघिसम्म कक्षा ११ को परीक्षा लिएर नतिजा प्रकाशनको काम विद्यालयहरूले सक्नुपर्ने कार्यतालिका रहेको बताउनुभयो ।
कक्षा १२ को परीक्षा फाराम हाल खुलेको छैन । भर्खरै बोर्डले स्थगित अवस्थामा रहेको यसअघिको कक्षा १२ को परीक्षा भने लिई सकेको छ । यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसित छलफल गरिने उहाँको भनाइ छ ।
शैक्षिक सत्रको गणना कहिलेबाट कसरी गर्ने भन्ने विषयमा मन्त्रालयसित कुराकानी गरेर टुङ्गो लगाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । यस अवधिमा विद्यालयहरूले विद्यार्थीको परीक्षा आन्तरिक रूपमा सञ्चालन गर्न सक्नेछन् ।





प्रतिक्रिया