दार्चुला । शैल्यशिखर नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।
शैल्यशिखर नगरपालिका अन्तरगतका विभिन्न वडाहरुमा गत वर्ष सम्झौता भइ काम सम्पन्न गरिसक्दापनि गत असार मसान्तभित्रै भुक्तानी गरिसक्नुपर्ने रकम हालसम्म भुक्तानी नगरेको, करारमा कार्यरत कर्मचारीको तलबभत्ता नदिएको र प्रदेश सरकारबाट विद्यालय सहयोगीहरुलाई प्रदान गरिएको पोषाक भत्ता समेत नदिएको लगायत मागहरु राख्दै तालाबन्दी गरिएको संघर्ष समिति संयोजक राजेशसिंह बिष्टले जानकारी दिनुभयो ।
यसअघि उल्लेखित शैल्यशिखर नगरकार्यपालिकाका गलत कामहरुको बिरोध गर्दै २४ घण्टाभित्र चित्तपुझ्दो जवाफ माग गरिएको तथा समाधानको प्रयास थाल्न अनुरोध गरिएको भएपनि सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको बिष्टले बताउनुभयो ।
४८ घण्टा पहिले पेश गरिएको ध्यानआकर्षण पत्रमार्फत अबको २४ घण्टाभित्र उल्लेखित विषयहरुमा चित्तबुझ्दो निर्णय गरि भुक्तानी प्रकृयालाई अबिलम्ब अगाडी बढाउन सरोकारवालाहरुको गम्भीर ध्यानआकर्षण गरिएको भएपनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको संघर्ष समितिले जनाएको छ ।
यसअघिको ध्यानआकर्षण पत्रमा भुक्तानी प्रकृयामा आलटाल गरेमा जनताको सम्बैधानिक अधिकार हनन हुने र जनताको जनजीवनसंग प्रतक्ष सरोकार राख्ने विषयमा आर्थिक अनियमितता गरिए नगरकार्यपालिकामा अनिश्चितकालिन तालाबन्दि गरेर आम जनता सडक आन्दोलनमा उत्रिने चेतावनी दिइएको थियो । आज दिउँसो तालाबन्दी गरिएको भएपनि प्रहरीको रहोबरमा ताला खोलिएको थियो । फेरी संघर्षरत पक्षले दोस्रो पटक ताला लगाएर आन्दोलनका कार्यक्रम अघि सारेको बिष्टले बताउनुभयो ।
नगरपालिकाका गलत कामको खबरदारी गर्दै जनताको पक्षमा वकालत गर्न यहि मंसिर १७ गते बसेको भेलाबाट १७ सदस्यिय संघर्ष समिति गठन गरिएको समिति संयोजक बिष्टले बताउनुभयो ।
तालाबन्दी गरिएको विषयमा रेडियो लोकदर्पणबाट सम्पर्क गर्दा राजनैतिक गुटबन्दीको कारण तालाबन्दी गरिएकोले भोलि शनिबार विदा परेको र आईतबार जुनसुकै हालतमा पनि कार्यलय खुल्ने नगरपालिकाका अधिकारीहरुले बताएका छन् ।
संघर्ष समितिले तलब भुक्तानीको विषय उठान गरेकोमा भुक्तानी दिनुपर्ने कर्मचारीमध्ये कोई पनि तालाबन्दीमा सहभागी नरहेको तथा कर्मचारीहरु सबै सम्पर्कमा आइसकेको र नगरपािलकाले तोकेको समयमा भुक्तनी दिने विषयमा सहमती भएको प्रमुख प्रशासकिय अधिकृत कुवँरले बताउनुभयो ।
तालाबन्दी भएको विषयमा सुरक्षाकर्मीहरुलाई जानकारी गराएका छौ, उहाँले भन्नुभयो, तालाबन्दी गर्दा सेवाग्राही मारमा पर्ने भएकोले सेवाग्राहीले ताला खोल्छन, ताला खोल्ने क्रममा कुनै घट्ना भएमा नगरपालिका जवाफदेहि हुनेवाला छैन् ।
नगरपालिकाकाले आफुले गर्ने काम गरिरहेकोले त्यस क्रममा नगरपालिकाको मान प्रभावित हुने खालका क्रियाकलाप सह्य नहुने नगरपालिकाले जनाएको छ ।






प्रतिक्रिया