बालिकालाई बलात्कार गरेको आरोपमा बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तडका १७ वर्षीय एक किशोर पक्राउ परेका छन् ।
मङ्सिर १६ गते आफ्नै घरमा लगेर १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ती किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एंव प्रहरी निरीक्षक धनदेव साउँदका अनुसार उमेर नपुगेकाले पक्राउ परेका किशोर तथा किशोरीको नाम सार्वजनिक गरिएको छैन । दुवै जनाको जन्मदर्ता मगाएर थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।
पीडित किशोरीका आफन्तको उजुरीका आधारमा जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका किशोर प्रहरी हिरासतमा रहेका छन भने किशोरी आफन्तसँगै रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यसअघि गत हप्ता पनि किशोरी बलात्कारको घटना गाउँमै मिलापत्र गराएको आरोपमा सिगास गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित छ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया