दार्चुला । राजनीतिक दाउपेचका कारण खानेपानीको चरम अभाव भोगिरहेका लेकम गाउँपालिका वडा नम्बर २ कुणी, कुसकाडा लगायत दर्जनौँ बस्तीमा खानेपानी पुर्याउन लागु भएको चमेलिया लिफ्टीङ खानेपानी आयोजना निर्माणका लागि आइतबार (आज) उपभोक्ता समिति गठन गरिएको छ ।
समिति गठनमा राजनीतिक स्वार्थ देखिएपछि लामो समयदेखि सहमति हुन सकेको थिएन् । आज बसेको उपभोक्ताहरुको भेलाले सहमतिमा समिति गठन गरेको हो । लेकम गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भवान सिंह धामीको अध्यक्षतामा आज बसेको बैठकले बहादुर सिंह खत्रीको अध्यक्षतामा ११ सदस्यिय उपभोक्ता समिति गठन गरेको छ ।
उपभोक्ता समितिमा पुर्व उपभोक्ता समिति अध्यक्ष जयदेब भट्ट कोषाध्यक्ष चयन हुनुभएको छ । सचिबमा ईन्द्र साउँद चयन भएका छन् । सदस्यहरुमा पशुपती जोशी, उमापती पन्त, शारदा पन्त जोशी, भवान सिंह धामी, मोहनराज सार्की, अम्बादत्त भट्ट, हिरा भट्ट र नरेश देबी भट्ट चयन भएको भेलामा सहभागि हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।
यसैगरी आनसिह धामी संयोजक रहेको पाँच सदस्यिय अनुगमन समितिमा पुष्पराज जोशी, बिरेन्द्र सिंह कार्की, केशबराज जोशी र गंगादत्त जोशी सदस्य चयन भएका छन् ।
लामो समय देखि उपभोक्ता समिती गठनमै विवाद हुदा योजनाको काम अलपत्र परेको थियो । आयोजना निर्माणको लागी डिपिआर समेत तयार भईसकेको अवस्थामा उपाभोक्ता समिति निर्माणमा भइरहेको ढिलाईले स्थानीयहरु खानेपानीबाट बञ्चित रहेका छन् ।
प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाको पहलमा खानेपानी तथा ढल व्यवस्थापन विभाग, जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाबाट प्राप्त तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरबाट सञ्चालित चमेलिया खानेपानी आयोजना कुणी कुसकाडामा जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाको निर्देशिका बमोजिम कुल लागत अनुमानको एक प्रतिषत रकम जम्मा गर्न ढिलाई हुदा आयोजनाको निर्माण कार्य अघि बढ्न सकेको छैन् । उपभोक्ता वा स्थानीय तहले एक प्रतिषत रकम जम्मा नगरेकै कारण निर्माण कार्यमा ढिलाइ हुनुका साथै २५ करोड रकम समेत रकमान्तर हुने जोखिम बढेको बेला सहमतिमा उपभोक्ता समिति गठन भएसंगै योजना कार्यान्वयन हुने सम्भावना बढेको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग, जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरलाई गत कार्तिक १९ गते उपभोक्ता समिति र आयोजनाको नाममा खाता खोलि एक प्रतिषत रकम यहि मंसिर महिना भित्र जम्मा नगरे अन्य आयोजनामा बजेट रकमान्तर हुने आशयको पत्र पठाएको छ ।
विभागको पत्र प्राप्त भएपछि लागत अनुमानको एक प्रतिषतले हुन आउने रकम २४ लाख ९८ हजार ७५ रुपैँया मंसिर २० गते भित्र उपभोक्ता समिति र आयोजनाको नाममा संयुक्त खाता खोली रकम जम्मा गरी बैंक भौचर उपलब्ध गराउन अनुरोध गरिएको भएपनि हालसम्म रकम जम्मा नभएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरका प्रमुख किरण आचार्यले बताउनुभयो । लेकम गाउँपालिका गाउँकार्यपालिका बैठकले २५ लाख बजेट बिनियोजन गरिसकेको भएपनि उपभोक्ता समिति गठनमा सहमति नहुदा अहिलेसम्म रकम निकासा भएको छैन् ।
आज उपभोक्ता समिति गठन भइसकेकोले वडाको सिफारीसपछि गाउँपालिकाले भुक्तानी दिए एक प्रतिषत रकम जम्मा गरेर योजना कार्यान्वयनको प्रकृया एक, दुई दिनभित्रै अघि बढ्ने नवनिर्वाचित उपभोक्ता समितिका कोषाध्यक्ष जयदेब भट्टले बताउनुभयो ।
गाउँमा खानेपानीका मुल नहुदा कुणी, कुसकाडा क्षेत्रमा अधिकासं समय खानेपानीको हाहाकार हुने गरेको छ । सिचाई वा अन्य प्रयोजनका लागि त परै जाओस पिउन समेत खानेपानी अभाव रहेको स्थानीयको गुनासो छ । आयोजना छिटो निर्माण गरेर खानेपानीको समस्या समाधान गरिदिन स्थानीयहरुले सरोकारवालाहरुलाई अनुरोध गरेका छन् । खानेपानी अभावमा स्थानीयले पिठ्युमा घण्टौँ खानेपानी बोकेर जोहो गर्नुपरेको छ ।
सम्बन्धित समाचार : खानेपानीमा राजनीतिक दाउपेच : कुणी, कुसकाडा बृहत खानेपानी अन्यौलमा




