दार्चुला । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दार्चुला सहित देशभर सरकार बिरोधी प्रदर्शन गरिरहेको छ । सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गरिरहेको हो ।
तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि आक्रोशित बनेको कांग्रेस सडकमा उत्रिएको नेपाली काग्रेश दार्चुलाका सचिव हरक बिष्टले जानकारी दिनुभयो । देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेकोले बाध्य भएर प्रदर्शन गर्नुपरेको उहाँको भनाई छ ।

दार्चुला सदरमुकाम खलंगासहित विभिन्न स्थानीय तहमा काग्रेशले प्रदर्शन गरिरहेको छ । आज हुने विरोधका कार्यक्रममा ७७ वटै जिल्लामा केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गरिरहेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले हेटौंडामा र वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाण्डौमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको काग्रेशले जनाएको छ ।

त्यस्तै, उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । महामन्त्री डा. शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री डा. प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा, सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटा र पूर्वसहमहामन्त्री डा. रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले कास्कीमा हुने विरोध सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ । युवा नेता गगन थापाले धनगढीमा सम्बोधन गर्ने कार्यक्रम रहेको काग्रेशले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कांग्रेसले कार्यकर्तालाई निर्देशन समेत दिएको छ । यद्धपी दार्चुला सहित देशभरीको प्रदर्शनमा अधिकासंले स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डको समेत पालना गरेका छैनन् ।


तस्बिर : पत्रकार ईन्द्र साउँदबाट




