दार्चुला । बुधबार दिउसो एक घण्टा खोलीएको नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित सीमापुलमा झण्डै ६ सय ३७ जनाले आवत जावत गरेका छन् ।
ब्यास गाउँपालिका वडा नं १ घर भई हाल दार्चुला सदरमुकाम खलंगा बस्दै आएका ओम प्रकाश तिंकरीका ठुलाआमा मन्दोदरी गरब्यालको भारतको धार्चुलामा मृत्यु भएका कारण अन्तीम संस्कारमा सहभागि हुनका लागि सीमापुल खोलिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी निरिक्षक पुस्कर सिंह ऐरीका अनुसार, सीमा पुल खुलेको अवसरमा भारतीय बजारमा किनमेल गर्न तीन सय ६७ जना पुरुष र दुई सय ८० जना महिलाहरुले आवत जावत गरेका छन् ।
नेपाल र भारतका ब्यापारीहरुले पटकपटक सीमापुल नियमित खुल्नुपर्ने माग राखेपनि सीमापुल खोल्ने विषयमा स्थानीय प्रशासनले निर्णय गरेका छैनन् । व्यापारीहरुले भने दुबै देशको हितका लागि सीमा पुल खोलिनुपर्ने माग गर्दै आएका छन् ।
भारतको व्यापार नेपाली ग्राहकमा निर्भर छ भने सयौँ नेपाली मजदुरहरु भारतमा दैनिक ज्याला मजदुरी गरेर जीबिकोपार्जन गर्दै आएका छन् । नेपाली मजदुर, व्यापारी र विद्यार्थी तथा भारतीय व्यापारी र विद्यार्थीहरु सीमा पुल बन्द हुदा समस्यामा परेका छन् ।




