दार्चुला । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गर्नुभएको हो ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको बताउनुभयो ।
प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहमा रहेका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले पदमुक्त गर्नुभएको हो ।
डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त हुनुभएको थियो ।
बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए। नेकपा प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलको दबाबपछि मुख्यमन्त्रीले उहाँलाई पदमुक्त गरिएको बताइन्छ।
यसअघि आइतबार मुख्यमन्त्री भट्टले बोहरालाई टेलिफोन सम्पर्क गरि आफूलाई हटाउन दबाब आएको भनेको स्रोत बताउँछ।
मन्त्री बोहराले भने पदमुक्त गरिएको आधिकारिक पत्र आफूकहाँ नपुगेको बताउनुभएको छ ।




