दार्चुला । दार्चुलाको बलाँच सवस्टेशन अन्तरगत राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा अवरुद्ध भएको छ । आइतबार विहानदेखि बिजुली नआउदा अन्धकारमा बस्नुपरेको सेवाग्राहीको गुनासो छ ।
चमेलियाबाट ल्याइएको ११ केभी क्षमताको प्रसारण लाइन अवरुद्ध छ, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका प्रविधिक प्रमुख कुलदिप सादाले भन्नुभयो, सदरमुकाम खलंगामा विद्युत आउने जाने भइरहेको छ । गोकुलेश्वर क्षेत्रमा दुई दिनदेखि विद्युत पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बलाँच क्षेत्रमा विद्युत अवरुद्ध हुनुको कारण नै पत्ता नलागेकोले आइतबारदेखि मर्मतको काम गर्न नसकिएको उहाँले बताउनुभयो । धौलिगाड सवस्टेशनमा मर्मतको काम चलिरहेको र बलाँच क्षेत्रमा फल्ट (अवरोध) पत्ता लगाउने काम भइरहेको सादाले बताउनुभयो । बलाँच सवस्टेशन सञ्चालन नहुदा शैल्यशिखर नगरपालिका, मार्मा, लेकम, डिलाशैनी गाउँपालिका लगायत क्षेत्रमा विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ ।
दुई दिन देखि बिजुली नआउदा मोबाइल चार्ज गर्न समेत समस्या भएको स्थानीय मनोज जोशीले बताउनुभयो । चिसोको समयमा विद्युत नहुदा सेवाग्राही समस्यामा परेका छन् । राष्ट्रिय प्रसारण लाइन अवरुद्ध हुदा उज्यालो बाल्न, मोबाइल चार्ज गर्न, खाना पकाउन, विद्युतबाट चल्ने मेसिनहरु चलाउँन पाइएको छैन । विद्युत अभावमा सञ्चारमाध्यम र विद्युतिय पशलहरुको सेवा बन्द रहेको छ । सोलारबाट चलाउन घाम नलागेको र विद्युत अवरुद्ध भएकोले अधिकासं एफ.एम. रेडियोहरुको प्रसारण समेत बन्द भएको छ ।
विद्युत उत्पादनको धनी जिल्ला दार्चुलाको झण्डै ६० प्रतिषत घरधुरीमा राष्ट्रिय प्रशारणको पहुँच नहुँदा सोलार र टुकीको भरमा सरकारी कार्यालयदेखी व्याक्तिगत कामकाज गर्नुपर्ने बाध्यता रहेको छ । भने विद्युत लाइन विस्तार भएको क्षेत्रमा अनियमित र कम क्षमताको विद्युतका कारण सधै समस्या भोग्नुपरेको छ ।
दार्चुलामा ३० मेगावाटको चमेलिया जलविद्युतसहित सहायक र ग्रामिण लघुजलविद्युतहरु उत्पादन भएपनि समयमै ग्रामीण विद्युतिकरण नहुदा जिल्लावासीले बिजुलीबत्ती बाल्न पाएका छैनन् । कुल उत्पादनको दुई प्रतिषत विद्युतले जिल्लाभरी झिलिमिली हुने अवस्थामा समयमै ग्रामिण विद्युतिकरण, सवस्टेशन निर्माण र लाइन विस्तारको कार्य सम्पन्न नहुदा जिल्लाका आधा नागरिकले विद्युतको तारपोल समेत देख्न पाएका छैनन् ।
ग्रामिण विद्युतिकरणकालागि २०७०÷०७१ सालदेखी ठेक्का सम्झौता भएका केहि क्षेत्रमा हालसम्म काम पूरा भएको छैन ।
ग्रामिण विद्युतिकरणकालागि हरेक वर्ष करोडौ बजेटमा ठेक्का सम्झौता भएपनि समयमै विद्युत प्राधिकरणले उपकरण उपलब्ध गराउँन नसक्ने, सडक पहुचको अभाबमा ढुवानी समस्या हुने र निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तीका कारण विद्युतिकणमा प्रगति हुन सकेको छैन् ।
गत वर्षदेखि भारतबाट आयातित विद्युत समेत कटौती गरिएको छ ।
विद्युत सेवा अवरुद्ध भएसंगै दार्चुलाको अधिकासं क्षेत्रमा सञ्चार सेवा समेत अवरुद्ध भएको छ ।




