दार्चुला । दार्चुला र बैतडीमा शुक्रबार बेलुकीदेखि अवरुद्ध टेलिफोन र इन्टरनेट सेवा सूचारु भएको छ । नेपाल टेलिकम दार्चुलाका अनुसार बैतडीको सतबाँझ नजिकै स्थानीयले हसिँयाले फाइबर लाईन काटिदिएपछि दुई दिनसम्म टेलिफोन सेवा अवरुद्ध भएको थियो । शुक्रबार बाट अवरुद्ध टेलिफोन र इन्टरनेट सेवा आइतबारबाट सूचारु भएको छ ।
दार्चुला र बैतडीमा शुक्रबार बेलुकी ६ बजेदेखि टेलिफोन लाइन अवरुद्ध भएपछि सञ्चारको माध्यमबाट गर्नुपर्ने काम गर्न नपाएको तथा घरभन्दा टाढा रहेका आफन्त, इष्टमित्रहरुसंग सम्पर्क गर्न नसकिएको सेवाग्राहीले गुनासो गरेका थिए । टेलिफोन र इन्टरनेटको माध्यमबाट आदानप्रदान गर्नुपर्ने खबर समयमै सम्बन्धित व्याक्तिसम्म पुर्याउन नसकिएको लेकम गाउँपालिका वडा नम्बर ५ चौपाताका मनोज जोशीले गुनासो गर्नुभयो ।
हिजो शनिबार परेकोले अवरुद्ध लाइन सुचारु गर्न ढिलाइ भएको थियो । टेलिफोनमा लाइन अर्थात टावर देखाएको भएपनि काम गरेको थिएन । धेरै पटक एउटै नम्बर डाइल गरेमात्रै फोनको घण्टी जाने तर नसुनिने समस्या देखा परेको थियो । दुई दिनसम्म फोन नम्बर डाइल गर्दा सिधै कल इन्ड देखाएर हैरान बनाएको सेवाग्राहीको गुनासो छ ।
टेलिफोन र इन्टरनेट सेवाले काम नगर्दा व्याक्तिगत कामका साथै संस्थागत, सरकारी र सञ्चारमाध्यमका कामहरु समेत प्रभावित हुने गरेका छन् ।




