दार्चुला । नौ महिना देखि बन्द रहेको नेपाल भारत जोड्ने लाली ड्योडा झुलुङ्गे पुल खुल्ने भएको छ ।
कोरोना भाईरस कोभिड १९ को कारण नौ महिना देखि बन्द रहेको अन्तराष्ट्रिय सिमा नाका जोड्ने लाली ड्योडा सिमा पुल आगामी १० र १७ गते २ दिनका लागी खोलिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
यस क्षेत्रमा विवाह बर्तबन्ध, तिर्थ यात्रा तथा औषधी उपचारको लागी स्थानीयहरुलाई समस्या भएको भन्दै लेकम गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई हप्ताको एक दिन भए पनि सिमा पुल खोलिदिन आग्रह गरेको थियो । सोहि पत्र अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले लेकम गाउँपालिका वडा नम्बर ३ स्थित लाली ड्योडा पुल खोल्न समन्वयको लागी उपजिल्लाअधिकारी, डिडिहाट भारतलाई पत्र पठाएको थियो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सिमा पुल खोल्न गरेको अनुरोधमा भारतीय प्रशासनले अगामाी १० र १७ गते सिमा पुल खोल्न सहमती जनाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले जानकारी दिनुभयो ।
उक्त पुलबाट आवत जावत गर्ने नागरिकले आफ्नो परिचय खुल्ने परिचय पत्र बोकी कोभिड १९ संम्बन्धी सुरक्षा सर्तकता अपनाई आवत जावत गर्न सक्ने बताइएको छ ।
सिमा पुल विहान १० बजे देखि अपरान्ह ४ बजे सम्म खुल्ला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।





