दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जौलजिवीमा स्थानीयहरुले तालाबन्दी गरेका छन ।
स्थानीयबासीको पायक पर्ने ठाउँ भन्दा फरक ठाउँमा वडा कार्यालय भवन बनाउने निर्णयको विरोधमा स्थानीयले विहिबार(आज) वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै वडा कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन ।
गाउँवासीलाई जानकारी नै नदिई गाउँपालिकाले अपायक पर्ने ठाउँमा वडा कार्यालय भवन निर्माण गर्ने लागेकोले वडा कार्यालयमा तालाबन्दी गर्नुपरेको सघर्ष समितिका संयोजक विरेन्द्र चन्दले बताउनुभयो ।
अहिले वडा कार्यालय भवन बनाउने निर्णय भएको जमिन जौलजिबि मञ्च नजिक रहेकाले स्थानीयहरुको पायक नपर्ने भएकाले तालाबन्दी गर्नु परेको सघर्ष समितिका संयोजक चन्दले जानकारी दिनुभयो ।
छलफलपछि मात्रै वडा कार्यालय भवन बनाउने ठाउँको टुंगो लगाउनु भनेको तर मालिकार्जुन गाउँपालिकाले मनोमानी गरेपछि विरोधमा उत्रनु परेको स्थानीयहरुले बताएका छन ।
मालिकार्जुन गाउँ कार्यपालिकाको गत पुष २२ गते बसेको बैठकले वडा नम्बर ७ को वडा कार्यालय भवन जौलजिबी मेला मञ्च नजिक क्षेत्रमा बनाउने निर्णय गरेको थियो । गाउँपालिकाले जौलजिबी मेला मञ्च नजिक क्षेत्रमा बनाउने निर्णयगरेपछि स्थानीयहरुले तालाबन्दी गर्नुका साथै वडालाई ज्ञापन पत्र समेत बुझाएका छन ।
वडा कार्यालयमा तालाबन्दी गरिएपछि विहिबार दिनभरि वडा कार्यालयबाट हुने सबै प्रकारका सेवा प्रवाह बन्द भएको छ ।
यस्तै वडा नम्बर ७ का स्थानीयहरुले भोलि गाउँपालिकाकेन्द्र शंकरपुर पस्तीमा समेत तालाबन्दी गर्नुका साथै ज्ञापनपत्र बुझाउने निर्णय भएको संघर्ष समितिले जनाएको छ । आज नै स्थानीयहरुले विरेन्द्र चन्द संयोजक रहेने गरी १३ सदस्य सघर्ष समिति गठन गरेको समेत बताएका छन ।




