दार्चुला । बझाङमा मंगलबार भएको युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले खुँडा प्रहार गरि छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्ष सहित ३ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक खड्काले पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास ऐडी, उहाँका भाइ नाता पर्ने प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडीलाई पक्राउ गरिएको बताउनुभयो ।
उनीहरुलाई थलारा गाउँपालिकाबाट पक्राउ गरिएको खड्काले बताउनुभयो। सिंहको हत्या गरेको आरोपमा छबिसपाथिभेरा वडा नम्बर २ का ज्ञानबहादुर कडायत भने मंगलबार नै पक्राउ परिसकेका छन्।
छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको प्रहरीको भनाइ छ।
उनको हत्यामा वडाध्यक्षको सरकारी मोटरसाइकल समेत प्रयोग गरेको भेटिएपछि अनुसन्धानका लागि निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले काँग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहरासँग पराजीत भएका थिए।
धामीले १ सय ४९ र बोहराले १ सय ७७ मत प्राप्त गरेको बुझिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खडकाले बताउनुभयो ।
उहाँका अनुसार हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका व्यक्ति हुन्।
यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ।





प्रतिक्रिया