दार्चुला । बालबालिकाको भविष्य निर्माण गर्ने शिक्षा क्षेत्रलाई पुर्वाधारको पनि पुर्वाधारका रुपमा लिइन्छ । तर ग्रामिण क्षेत्रमा शैक्षिक गुणस्तरमा सुधार हुन सकेको छैन् । अभिभावकको उदासिनता, दक्ष जनशक्तिको अभाव र भएका शिक्षकहरु समेत गैरजिम्मेवार बनेका कारण अधिकासं विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको छ ।
लेकम गाउँपालिका वडा नम्बर ४ मा रहेको मालिकार्जुन आधारभुत विद्यालय पातीमा प्रधानाद्यापक सहित दुई जना शिक्षक र एक जना बालबिकास सहजकर्ताको दरबन्दी भएपनि भएकै शिक्षक समेत गाउँपालिकामा एम्बुलेन्स चलाउन काज तानिएपछि विद्यार्थीहरु अधिकासं समय घाम तापेर दैनिकि विताइरहेका छन् । कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा प्रधानाद्यापक भागरथी पन्त र शिक्षक प्रमानन्द गिरी कार्यरत भएपनि शिक्षक गिरीलाई एम्बुलेन्स चालकको जिम्मेवारीमा शिक्षा शाखाले काज विदा दिएको छ । गाउँपालिकाभित्रै दर्जनौँ गाडी चालक हुदाहुदै एम्बुलेन्स चालक नियुक्त गर्नुको सट्टा शिक्षकलाई काज विदा दिएर विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको अभिभावकको गुनासो छ ।
भएका दुई जना शिक्षकमध्येबाट समेत लामो समय शिक्षक गिरी विद्यालयमा उपस्थित नभएपछि बुधबार मालिकार्जुन आधारभुत विद्यालय पातीको विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकहरुको आकस्मिक भेला बसेर विद्यालयमा उपस्थित नहुने शिक्षक सरुवाको माग गरिएको छ । शिक्षक अभावको समस्या झेलिरहेको विद्यालयका प्रधानाद्यापक भागरथी पन्तले नै विद्यालय व्यवस्थापन समितिको निर्णय विनै गत मंसिर १८ गतेदेखि शिक्षक परमानन्द गिरीलाई काज बिदा दिएको पाइएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज ओझाले बताउनुभयो ।
बुधबार अभिभावकको आकस्मीक भेलाबाट शिक्षकको सरुवाको माग गर्ने जनाएपछि प्रधानाद्यापक पन्तले विद्यालय व्यवस्थापन समितिको निर्णय पुस्तीका नै दिन नमानेको उहाँले बताउनुभयो । प्रधानाद्यापक पन्तले बरु काजमा बसेका शिक्षकको काज फिर्ता गर्ने निर्णय गर्न सक्ने तर सरुवाको निर्णय गर्न नसक्ने जवाफ दिएको भेलामा सहभागि अभिभावकहरुले बताएका छन् । यसअघि नै शिक्षक गिरी विद्यालयमा नियमित उपस्थित नहुने र अनावश्यक विदामा बस्ने, विद्यालय सञ्चालन भएको दिनमा समेत राजनीतिक कार्यक्रमहरुमा सहभागि हुने गरेको अभिभावकहरुको भनाई छ । शिक्षक गिरी अधिकासं समय गाउँपालिकामा बसेर समय बिताउने गरेको कर्मचारीहरु बताउछन् ।
गत महिना नेपाली काग्रेशले रिठाचौपातामा आयोजना गरेको कार्यक्रममा समेत शिक्षक गिरीको सहभागिता रहेको प्रतक्षदर्शीहरुले बताएका छन् । नेपाली काग्रेशका केन्द्रिय सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा उहाँले उद्घोषणका साथै मन्तब्य समेत प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीको भविष्य निर्माण गर्ने शिक्षकहरु नै अनियमित र गैरजिम्मेवार हुदा भविष्यका करुणाधार बालबालिकाहरुको जीवन अन्धकारमा धकेलिन पुगेको मालिकार्जुन माबि पातीका शिक्षक अभिभावक संघ अध्यक्ष मोहनसिंह धामीले बताउनुभयो । चालु शैक्षिक सत्रको कार्तीक सम्म कोरोना भाइरसको कारण विद्यालयहरु बन्द भएका थिए । बाकी समयमा समेत शिक्षकहरुले नियमित नपढाउदा विद्यार्थीको शैक्षिक सत्र खेर जाने खतरा बढ्दै गएको छ ।
विभिन्न राजनीतिक दलसंग आवद्ध शिक्षकहरु विद्यार्थीलाई पढाउन छोडेर राजनीतिक कार्यक्रममा सहभागि हुदा समेत नियामक निकायहरु आखामा पट्टी बाधेर बसेको बुद्धिजिविहरु बताउछन् ।

मालिकार्जुन आबी पातीका प्रधानाद्यापकले अभिभावकहरुलाई निर्णय पुस्तीका नदिएपछि सादा कागजमा शिक्षक सरुवाको माग गर्दै गाउँपालिकालाई पत्र पठाइएको छ । गाउँपालिकाबाट प्रधानाद्यापकले निर्णय पुस्तीका नदिनु गलत भएको जवाफ प्राप्त भएको बताउदै अभिभावकहरुले बिहिबार (आज) लेकम गाउँपालिका शिक्षा शाखाका कर्मचारीको रहोबरमा विद्यालयमा छलफल गर्ने सहमति भएको जानकारी दिएका छन् ।
शिक्षक गिरी मात्र हैन, लेकम गाउँपालिका सहित देशभरीका केहि शिक्षकहरु आफ्नो काम, कर्तव्य भुलेर विद्यार्थीहरुको भविष्यको ख्यालै नगरि राजनीतिक कार्यक्रममा व्यस्त हुने र कतै खेताला शिक्षक नियुक्त गर्ने तथा कतै विद्यार्थीलाई नपढाएरै पिरियड व्यतित गर्ने गरेको आरोप लाग्दै आएको छ । केहि विद्यालयमा शिक्षक र अभिभावकहरु जिम्मेवार नबनेकै कारण विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार हुन सकेको छैन् । कतिपय विद्यार्थीहरु लगनसिल बन्न नसक्नुमा शिक्षक, अभिभावकहरुको भुमिका रहेको छ ।
कतिपय शिक्षक तथा अभिभावकहरुले जिम्मेवारीपुर्वक काम गरिरहेको भएपनि केहि पात्रहरुको कारण शिक्षा क्षेत्र आलोचित बन्ने गरेको जिम्मेवार शिक्षकहरुको प्रतिक्रिया छ । शिक्षा शाखा र सरोकारवाला निकायहरुले कमजोरी सुधार गरेर शिक्षा क्षेत्रको गुणस्तर सुधारमा ध्यान दिनु अत्यावश्यक रहेको जानकारहरु बताउछन् ।




