दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयमा माघ १३ गतेदेखि तालाबन्दी गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा वडा नम्बर ६ बाट कम नागरिकलाई छनौट गरिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीयहरुले बताएका छन् ।
स्थानीयहरुले गाउँपालिकाको सबै वडा र टोलहरुबाट समान नागरिक प्रधानमन्त्री रोजगार कार्याक्रममा समावेश हुनुपर्ने लगायतका मागहरु राखी माघ १३ गते देखि वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिकाको वडा नम्बर ६ बाट प्रधानमन्त्री रोजगार कार्याक्रममा समावेश हुनको लागी तीन सय ८३ जनाले आवेदन दिएकोमा १९ जना छनोट भएका छन । आफुहरुले कार्यक्रममा समावेश हुनको लागी सबै विवरण भरेको भए पनि कार्यक्रममा समावेश नगरिएकोले वडा कार्यालयमा तालाबन्दी गर्नु परेको स्थानीय हरि खत्रीले बताउनुभयो ।
यसैबिच आइतबार (आज) लेकम गाउँपालिका वडा नम्बर ६ का युवाहरु रोजगार छनोटको विषयमा बुझ्नका लागि भन्दै लेकम गाउँपालिका कार्यालयमै पुगेका थिए । लेकम गाउँपालिका गाउँकार्यपालिकामा समेत रोजगार छनोटको विवाद समाधान गर्न भन्दै बैठक बसेपनि सहमति जुट्न नसकेको बताइएको छ ।
वडाअध्यक्ष लगायत अधिकासं जनप्रतिनिधिले रोजगार छनोटको विषयमा रोजगार शाखाका कर्मचारीहरुलाई दोषि करार गर्न खोजिरहेको छन् । भने रोजगार शाखाले वडाबाट आएका फाराम अनुसारको विवरण जस्ताको त्यस्तै इएमआइएस प्रणालीमा प्रबिष्ट गरेर उतैबाट छनोट भएकोले रोजगार छनोटमा आफुहरुको कुनै कमजोरी नरहेको कर्मचारीहरुको दाबी छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुनको लागी निवेदकले भरेको फारम वडाका जनप्रतिनिधिको सिफारिसका आधारमा गाउँपालिकाको रोजगार शाखाले जस्ताको त्यस्तै इएमआइएस अनलाईन प्रणालीमा प्रविष्ट गर्ने र उतै बाट छनोट हुने भएकोले रोजगार शाखाको त्यसमा कुनै त्रुटि नरहेको रोजगार शाखाले जनाएको छ ।
वडाकै जनप्रतिनिधिको सिफारिसका आधारमा अनलाइनमा सूचि प्रविष्ट गरिएकोले वडाबाट प्रकृया पुगेर समयमै गाउँपालिकामा प्राप्त भएका कसैलाई पनि प्रबिष्ट गर्न बाट नछुटाएको र छनोट गर्ने जिम्मेवारी आफुहरुको नभएकोले इएमआइएस प्रणालीको मापदण्ड अनुसार छनोट भएको रोजगार शाखाले जनाएको छ ।
लेकम गाउँपालिकामा सबैभन्दा बढी वडा नम्बर ४ बाट ५५ जना एक सय दिनको कामका लागि छनोट भएका छन् । भने सबैभन्दा कम वडा नम्बर ३ बाट दुई जना मात्रै छनोट भएका छन् । यस्तै वडा नम्बर ५ बाट ५४ जना, वडा नम्बर २ मा ४० जना, वडा नम्बर १ मा ३९ जना र वडा नम्बर ६ मा १९ जना छनोट भएका छन् ।
कुल २१२ जनालाई प्रतिव्याक्ति ५१ हजार ७०० रुपैँया बराबर १०० दिनको रोजगारी दिनका लागि लेकम गाउँपालिकामा एक करोड ९ लाख ६१ हजार बजेट प्राप्त भएको छ ।
वडा कार्यालयमा तालाबन्दी हुदा सेवाग्राही समस्यामा परेका छन् । विद्यार्थीहरुले जन्मदर्ताको सिफारिस समेत नपाएको गुनासो गरेका छन् । तालाबन्दी खुलाउने विषयमा सरोकारवालाहरु जिम्मेवार नबनेको स्थानीयको आरोप छ ।




