दार्चुला। लामो समयपछि हिउँदमा विहिबार राती देखि दार्चुलासहित देशव्यापी रूपमा वर्षा र हिमपात भएको छ । दार्चुलाको अपिहिमाल र व्यास गाउँपालिकामा गाउँसम्मै हिमपात भएको छ । अपिहिमालस्थित खण्डेश्वरी माबि लगायत केहि विद्यालयहरु हिउँफुलमै सञ्चालन भइरहेको छन् । स्थानीयहरुका अनुसार व्यास र अपिहिमालका साथै मार्मा, दुहुँ, नौगाड गाउँपालिकाका लेकाली क्षेत्रहरुमा समेत हिमपात भएको छ ।
हाल पश्चिमी न्यूनचापीय प्रणाली विकास भएका कारण मौसम बदली भएको हो । भारत हुँदै आएको पश्चिमी वायुले एक दिनका लागि नेपालमा वर्षा र हिमपातको अवस्था सिर्जना गरेको हो ।
नेपालको सुदूरपश्चिम हुँदै भित्रिएको यस मौसमी प्रणाली शनिबार पूर्वी भेगसम्म फैलने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार रातिदेखि नै सुरु भएको बदलीले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा शुक्रबार हल्का वर्षासँगै उच्च हिमाली भेगमा बाक्लो हिमपात गराएको छ । दार्चुला, बैतडी लगायत सुदूरपहाडका अधिकासं जिल्लाका साथै कर्णाली प्रदेशका हिमाली क्षेत्र तथा लेकहरूमा बिहीबार रातिदेखि नै हिमपात जारी छ ।

गत असोज–कात्तिकदेखि नेपालमा वर्षा हुन सकेको थिएन । पश्चिमी वायुको प्रभाव कमजोर रहँदा त्यो अवधिमा वर्षा हुन नसकेको मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो ।
अहिले सिर्जना भएको पानी पार्ने प्रणाली पनि मात्र एक दिनका लागि नेपाल भित्रिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार अपराह्नदेखि मौसममा सुधार हुनेछ । आइतबारदेखि पूर्णरूपमा सफा हुने सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले आएको पश्चिमी वायुमा पर्याप्त जलवाष्प छैन, त्यसैले यो चाँडै अन्त्य हुनेछ ।”
वर्षात्को क्रम हल्का रहे पनि हिमाली र उच्च पहाडी भेगमा यस पटक यो प्रणालीले राम्रो हिमपात गराउन सफल भएको उहाँले बताउनुभयो । जसका कारण हिमाली भेगका किसानले लगाएको हिउँदे खेतीमा सकारात्मक असर पर्नेछ ।
शुक्रबार दिउँसो नै काठमाडौँलगायतका स्थानमा वर्षा हुने छाँट देखिए पनि चर्को हावा चलेकाले फाट्टफुट्ट मात्र वर्षा भयो । राति भने हल्का वर्षा भएको थियो । महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदलीकोअवस्था रहनेछ ।
तस्बिरहरु अपिहिमालका स्थानीय खडक लोथ्यालको फेसबुकबाट साचार











प्रतिक्रिया