
भक्तपुर । सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
प्रजिअ पाण्डेले जिल्लामा कोरोना सङ्क्रमण फैलिन नदिन लकडाउनलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको जानकारी दिँदै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नदिने गरी कडाइ गरेको उनले जानकारी दिए । जिल्लामा कोभिड–१९ को जोखिम र समुदायमा सङ्क्रमण बढ्न नदिन कोही पनि सर्वसाधारणलाई घरबाहिर निस्कन नपाउने बताउँदै प्रजिअ पाण्डेले भक्तपुरबाट अन्यत्र जान यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको जानकारी दिए ।
अत्यावश्यक वस्तुबाहेक व्यापार, व्यवसाय, उद्योग कलकारखाना सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ भने भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यकबाहेकका व्यक्ति तथा सवारीसाधन निषेध गर्ने, स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको व्यवस्थापन एवं नियमन गर्ने, विपन्न एवं गरिबसहित खाद्यान्न अभाव भएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सङ्क्रमित व्यक्तिको यात्रा विवरणका आधारमा तत्काल कन्ट्रयाक्ट ट्रेसिङ गर्ने, उनीहरुको बासस्थान सिल गर्ने, उनीहरुका परिवारका सदस्यको तुरुन्त कोरोना परीक्षण र आवश्यक परे आइसोलेसनमा राखेर उपचार गर्ने निर्णय भएको छ ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।