काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको दोहोर्‍याउनुभएको छ ।

प्रतिनिधिसभामा ओलीले नेपाली भूमि भएकाले नै मन्त्रीपरिषद्ले त्यो भूमि समेटेर नयाँ नक्सा ल्याउने निर्णय गरेको जानकारी दिनुभयो । अब लिम्पियाधुर र लिपुलेक र कालापानीको विषय अब ओझेलमा पार्न नदिने भन्दै उहाँले हाम्रो भूमि भारतले ओगटेर विवाद सृजना गर्न खोजेको बताउनुभयो ।

उहाँले अब छिटै नेपालको त्यो भूमि फिर्ता ल्याउने बताउनुभयो । यसको लागि कुटनीतिक छलफल हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । यो तथाकथित राष्ट्रवाद देखाउन नगरिएको र आफ्नै भूमि फिर्ता लिने निर्णय भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन, यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’

संविधानको अनुसूची ३ मा भएको नक्सा र निशान छाप पनि सुधार गर्नुपर्ने भएकाले  संविधान संशोधन गर्ने उहाँले बताउनुभयो । यो अहिलेको जरुरी विषय भएकाले संविधान संशोधन हुने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने सम्बन्धमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।पहिले छानबिन नै हुँदैन थियो, अहिले छानबिन गर्न थालेपछि भ्रष्टाचारका मुद्दा देखिएको छ । अहिले देखिएका धेरै मुद्दा पहिलेका रहेको ओलीको भनाइ छ ।

‘३८ क्विन्टल सुनको कारोबार भयो, नेपाललाई बाटो बनाएर तस्करी भयो । छानबिन गर्दा थाहा भयो, मानिस कारबाहीमा छन्, अदालतमा मुद्दा चलिरहेको छ तर पनि खै छानबिन भनेर हल्ला मात्रै भइरहेको छ, तर नागरिक लाटो छैनन्, सबै बुझेका छन् ’ ओलीले भन्नुभयो ।

’पहिले धेरै भ्रष्टाचार सुटुक्क भएको तर अहिले सरकारले बाहिर ल्याइरहेको प्रधानमन्त्रीले बताउनुभयो । धेरै विषयमा छानबिन भइरहेकाले नागरिक खुसी रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले महँगोमा नेपाललाई मूल्यवान शिक्षा दिएको बताउनुभएको छ । कोरोना तितो यथार्थ भएको र यसले आफू र आफ्नो सरकारलाई गम्भीर बनाएको उहाँको भनाइ छ ।

केही सांसदहरुले कोरोनामहामारी नै नभएजस्तो गरी नीति तथा कार्यक्रम आयो भनेको तर सरकारले कोरोनासँग लड्ने र यसको क्षति कम गर्न उत्तिकै ध्यान दिएको बताउनुभयो ।संसद्मा सम्बोधन गर्नुहुँदै उहाँले कोरोनाले अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव पारेको तर यसो भन्दै गर्दा पुरै लम्पसार परेर मात्रै समस्या समाधान नहुने र अर्थतन्त्र चलायमान बनाउन विकास निर्माणलाई पनि जोड दिइएको बताउनुभयो ।

बाँच्नको लागि र सामाजिक जीवन चलाउनकै लागि भएपनि आर्थिक चहलपहल बढाउनुपर्ने भन्दै प्रधानमन्त्रीले कोरोना कालमा अरु गतिविधिलाई पनि ध्यान दिइएको बताउनुभयो ।केही सांसद र नीजि क्षेत्रले राहतको प्याकेज नआएको बताएका बेला प्रधानमन्त्रीले भन्नुभयो, ‘प्याकेज देखाउने कुरा होइन । जता जाँदैछौं त्यसअनुसार आर्थिक हिसाबले काम गर्नुपर्ने हुन्छ ।

जसलाई प्याकेज जरुरी छ, सरकारले महसुस गरेर ल्याउँछ । रोजगारी सृजना गर्न र सबैको दैनिकी सहज बनाउने बाटोमा सरकार जान्छ ।’गरिब, सहाराविहीन, अपाङ्गता भएकाहरु र श्रम गर्न नसक्नेहरुको सरकारले बिना सर्त जिम्मा लिने उहाँले बताउनुभयो । आउँदा दिनमा यस्ता प्रबन्ध गर्न सरकार थप सक्रिय भएर अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

भारतसँग सोध्नेछु- ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भएको र भारतले अतिक्रमण गरेर विवादित बनाएको प्रष्ट पार्नुभएको छ ।मङ्गलबार संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न नदिने बताउनुभयो ।

कुटनीतिक संवादमार्फत नेपाली भूमि फिर्ता लिन सकिने सरकारको विश्वास रहेको भन्दै उहाँले भारतको प्रतिक चिन्हसँग उठाउनुभयो । उहाँले भन्नुभयो, ‘भारतको एउटा प्रतिक चिन्ह छ । अशोकाले स्थापना गरेको चारमुखे सिंह । त्यसको मुनि सत्यमेव जयते लेखेको छ । म भारतसँग सोध्नेवाला छु, सत्यमेव जयते कि सिंहमेव जयते ? ‘सत्यको जित हुन्छ कि सिंहको जित हुन्छ’ भन्ने कुराको जवाफ पनि भारतसँग सोध्ने बताउँदै उहाँले भन्नुभयो, ‘हामी सबै नेपालीले सत्यमेव जयतेमा विश्वास गर्छौ ।

‘उहाँले अघि भन्नुभयो, ‘भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि कालापानीमा जान ब्लक भयौँ । त्यसबेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौँ, हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो ।’

कोरोना भाइरसको प्रकोपले गर्दा उत्पादन घटेको, आम्दानी घटेको आवश्यकता बढेको तर कोरोना बाहेक अरु काम पनि गर्नुपर्ने बाध्यता रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको दैनिकी सहज बनाउने र विकास निर्माणका काम गर्ने तथा सामाजिक उत्तरदायित्व पनि निभाउनुपर्ने भएकाले कोरोना बाहेक पनि अरु क्षेत्रमा सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले निजी क्षेत्रलाई मात्रै अघि बढाउनुपर्छ भन्ने सिद्धान्त असफल भइसकेको भन्दै सरकार पनि बलियो गरी अघि बढ्नुपर्ने बताउनुभयो । देशमा कुल गार्हस्थ उत्पादन बढ्ने, अरु सूचकाङ्क बढ्ने तर नागरिकको जीवनस्तर तल नै रहने भएपछि त्यसको अर्थ नहुने उहाँको भनाइ छ ।

लप्सीफेदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन नेपालको हितमा भएकोले अनावश्यक टिप्पणी नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ ।

पछाडिको ढोकाबाट एमसीसी छिराउन खोजिएको भन्ने सांसद भीम रावलको टिप्पणीको संसद्मा जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो प्रसारण लाइन नेपाललाई नभई नहुने भएकोले बनाउनैपर्ने बताउनुभयो ।‘यो प्रसारण लाइन पछाडिको ढोकाबाट होइन, अगाडिकै ढोकाबाट बनाइन्छ । एमसीसीले बनाए उसैले बनाउँछ । नत्र हामीले बनाउँछौँ ।

यो प्रसारण लाइन नबने सयौँ मेगावाट बिजुली खेर जान्छ,’ ओलीले भन्नुभयो ।एमसीसीको निष्कर्ष नेताले नभई संसदले निकाल्नुपर्ने बताउनुभयो । अघिल्लो सरकारले एमसीसीबारे धेरै निर्णय गरेको र यो सरकारले उत्तराधिकारीको रुपमा एमसीसीलाई संसदमा प्रस्तुत गरेको ओलीको भनाइ छ ।

यो प्रस्ताव अहिलेको सरकारले नभई अघिल्लो सरकारले गरेको तर अहिलेको सरकारले त्यो निर्णय मान्दिन भन्न नमिल्ने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय विश्वसनीयताको कुरा पनि रहेको भन्दै ओलीले सम्झौता गर्ने बेलामा राष्ट्रिय हितको पक्षमा होसियार र सावधान हुुनुपर्ने बताउनुभयो ।

एमसीसी पास गर्ने कि नगर्ने कुरा सदनले निर्णय गर्नुपर्ने प्रधानमन्त्रीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?