
दार्चुला । नेपाल सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमार्फत महाकाली कोरिडोर (कञ्चनपुरको ब्रह्मदेबदेखि दार्चुलाको तिकंर जोड्ने सडक) मा ३१ करोड ३२ लाख रुपैया बजेट विनियोजन गरेको छ ।
भौतिक योजना तथा पुर्वाधार मन्त्रालय अन्तरगत महाकाली करिडोर (ब्रहमदेव—झुलाघाट—दार्चुला—तिंकर) मा ३१ करोड ३२ लाख रकम बिनियोजन गरेको छ ।
बिहिबार प्रतिनिधिसभा र राष्ट्यि सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यको बुँदा नम्बर २३० मा उत्तर दक्षिण सीमा जोड्ने सडकको रणनीतिक महत्वलाई दृष्टिगत गरि क्रमशः डेडिकेटेड डबल लेनमा निर्माण र स्तरोन्नती गर्न बजेट विनियोजन गरिएको छ ।
महाकाली कोरीडोर लगायत सडकलाइ उल्लेख गर्दै रणनीतिक महत्तका सडकहरुको निर्माण एबं स्तरोन्नती गर्न ७ अर्ब १६ करोड रकम विनियोजन गरीएको अर्थमन्त्री डा. खतिवडाले बताउनुभयो ।
उक्त शिर्षकबाट दार्चुला—तिकंर सडक खण्डलाइ सरकारले प्रार्थमिकतामा राखेर बजेट विनियोजन गर्ने अपेक्षा गरीएको छ ।
२६ वर्षदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थलको पुर्ननिर्माण एबं सञ्चालन को विषय नीति, कार्यक्रम तथा बजेटमा समावेस गरिएको छैन् । गोकुलेश्वर विमानस्थल सञ्चालनका लागि यसै आर्थिक वर्षमा पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्नुपर्ने जनस्तरबाट माग भैरहेको छ ।
बजेटमा परेका सुदूरपश्चिका योजना
संघिय सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुदूरपश्चिमका अधिकांश पूरानै योजनाले निरन्तरता पाएका छन् ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले वषाँैदेखि अलपत्र परेको राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना र कर्णाली चिसापानी जलविद्युत आयोजनाको लगानी यकिन गरी अगामी वर्ष कार्यान्वयनमा लैजाने घोषण गर्नुभएको छ । महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्दै १० अर्ब २५ करोड बजेट विनीयोजन गरिएको छ ।
खुटिया–दिपायल–चैनपुर–उरै सडक निर्माण, प्रदेश सरकारसँगको सहकार्यमा वीपीनगर– खुटिया–दीपायल सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन, सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएको गोदावरीमा पूर्वाधार विकास गर्न, डडेल्धुरा अस्पतालमा विशिष्टकृत सेवा सञ्चालन गर्न पूर्वाधार निर्माण गर्न आवश्यक बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री खतिवडाले उल्लेख गर्नुभयो ।
यस्तै निर्माणाधिन गेटा मेडिकल कलेज अगामी वर्ष भित्रै सञ्चालन गरी सिकलसेल एनिमिया अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने समेत सरकारले बजेट भाषण मार्फत घोषणा गरेको छ भने कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र र कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि समेत आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
कञ्चनपुरमा निर्माणाधिन ४ लेनको महाकाली पुलका लागि थप ८८ करोड बजेट विनीयोजन गरिएको छ । धनगढी विमानस्थलको स्तरोन्नती एवंम रात्रिकालीन उडान योग्य बनाउन पनि बजेट व्यवस्था गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा जडीबुटी विकास विशेष कार्यक्रम पनि सञ्चालन गरिने भएको छ ।
यस्तै सरकारले पञ्चेश्वर परियोजनालाई अगाडी बढाउन पनि आवश्यक बजेटको व्यवस्थापन गरिएको घोषणा गरेको छ । सुदूरपश्चिममा बजेट भाषण मार्फत अधिकाशं पूरानै योजनाले प्राथमिकता पाएपछि कार्यान्वयनमा आशंका गरिएको छ ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।