
दार्चुला । सुदूरपश्चिम प्रदेशमा आत्महत्या विकराल समस्याका रुपमा देखा परेको छ ।
लकडाउनको ७१ दिनमा सुदूरपश्चिमका नौँ जिल्लामा ६१ जना महिला र ५९ जना पुरुष गरी एक सय २० जनाले आत्महत्या गरेका छन् । कैलालीमा सबैभन्दा बढि २५ जना पुरुष र १३ जना महिला गरी ३८ जनाले आत्महत्या गरेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कञ्चनपुरमा १५ महिला र ११ पुरुष गरी २६, डोटीमा पाँच पुरुष र छ महिला गरी ११, डडेल्धुरामा पाँच पुरुष र तीन महिला गरी आँठ, बैतडीमा चार पुरुष र १० महिला गरी १४, दार्चुलामा चार पुरुष र तीन महिला गरी सात, अछाममा पाँच पुरुष र चार महिला गरी नौँ, बाजुरामा चार महिला र बझाङ जिल्लामा तीर्न महिलाले आत्महत्या गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा आत्महत्याको दर हेर्दा दुर्गम जिल्लाको तुलनामा सुगम जिल्लामा धेरै बढि छ।
विगतमा आत्महत्या भन्ने वित्तिकै फाईल बन्द गर्ने प्रहरीले विस्तारै आत्महत्याको समेत अनुसन्धान भने गर्न थालेको छ। प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई दुरुत्साहन मुद्दा लगाउन थालेको हो।
अनुसन्धान गर्दा अर्काले दिएको शारीरिक र मानसिक यातनाबाट आत्महत्या गरेको खुलेपछि आत्महत्या गर्न बाध्य बनाएको आरोपमा नयाँ फौजदारी अपराध संहिता अनुसार दुरुत्साहन मुद्दा लगाउन थालिएको हो।
दैनिक १७ जनाद्वारा आत्महत्या
लकडाउनको कारण आत्महत्याका घटना झनै बढ्दै गएका छन् । लकडाउनको सुरुवातमा आत्महत्या दर १६ जना थियो भने अहिले औसत १७ जनाले दैनिक आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ ।
लकडाउन अवधिमा गएको चैत ११ गतेदेखि जेठ १० गतेसम्म देशमा १८ वर्षमुनिका ८६ जना किशोरी तथा बालिकाहरुले आत्महत्या गरेका छन् । लकडाउन सुरु भएको दुई महिनामा आत्महत्या गरेका नौ सय ८२ जनामध्ये ८६ जना किशोरी र बालिकाले आत्महत्या गरेको प्रहरी प्रवक्ता, डिआइजी निरजबहादुर शाहीले जानकारी दिनुभयो ।
यस अवधिमा १८ वर्षमुनिका ४४ जना किशोर र बालकले आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । लकडाउनको दुई महिनामा आत्महत्या गर्नेमध्ये चार सय ९९ जना पुरुष र तीन सय ५३ जना महिला रहेका छन् । आत्महत्या गर्नेमा सबैभन्दा बढी प्रदेश पाँचका दुई सय २५ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ५४ जना रहेका छन् ।
यो अवस्थामा आत्महत्या यसरी रोक्न सकिन्छ भनेर ठ्याक्कै भन्न सकिँदैन । आत्महत्या गर्नुपछाडि विभिन्न कारण हुन्छन् । त्यसमध्ये धेरैजसो कारण समाजसँग गएर ठोकिन्छन् । यो समयमा कुन उमेर समूहका किशोर, किशोरी, महिला र पुरुषले किन आत्महत्या गर्यो ? भन्ने अनुसन्धान नभईकन यसको रोकथाम यसरी गर्नुपर्छ भन्न सकिँदैन ।
अहिले मानिसहरु सबै कुराबाट वञ्चित भएका छन् । साथीहरुलाई भेट्न पाएका छैनन् । मनोरञ्जन पाएका छैनन् । जागिर छुटेको छ । सधैँ घुमफिर गरिरहनेहरुले घरभित्रै बस्नु परिरहेको छ । त्यसमाथि नयाँ रोगको कारण कतिजना क्वरेण्टीनमा छन् । कतिपय आइसोलेसनमा छन् । यस्ता धेरै कारणहरु छन् ।
तसर्थ, कुन मानिसको व्याकरण के हो ? उसले किन आत्महत्या गर्यो भन्ने अनुसन्धान नहुँदा यसको यसरी रोकथाम गर्नुपर्छ भनेर म भन्न सक्दिनँ ।
अर्को कुरा, आत्महत्यालाई अहिले जस्तो डरलाग्दो अवस्था भनिएको छ, सायद योभन्दा डरलाग्दो अवस्था आउनै बाँकी छ । अहिले मान्छेले काम गर्न पाएका छैनन् । कमाएको पैसा सकिएपछि आत्महत्या गर्नेको सङ्ख्या बढ्ने छ ।
आत्महत्याबाट जोगाउन परिवार र समाजको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने विज्ञहरु बताउँछन् ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।