दार्चुला । प्रयोगशालाको क्षमताभन्दा पाँच गुणा बढी स्वाब संकलन भएपछि सुदूरपश्चिम प्रदेशमा पाँच दिनको लागि स्वाब संकलन कार्य बन्द गरिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले एक हजार बढी स्वाब परीक्षण गर्न बाँकी रहेको भन्दै थप स्वाब संकलन नगर्न अनुरोध गरेको छ।‘स्वाबहरू धेरै संकलन भयो। राख्ने ठाउँ पनि छैन। होल्डमा भएका स्वाब परीक्षण गर्न पाँच दिन लाग्ने भएकाले अहिलेलाई संकलन बन्द गर्यौं,’ निर्देशनालय प्रमुख डा. गुणराज अवस्थीले भन्नुभयाे।धनगढीमा रहेको एउटा मात्र पिसिआर प्रयोगशालाले दैनिक २५० वटा नमूना परीक्षण गर्नसक्छ। तर अहिले प्रयोगशालामा १०८० वटा नमूना परीक्षणको लागि लाइनमा छन्।
पछिल्लो समय सुदूरपश्चिममा भारतबाट ठूलो संख्यामा मानिसहरू आएकाले परीक्षणको चाप बढेको हो।सामाजिक विकास मन्त्रालयका अनुसार जेठयता मात्र प्रदेशमा ५० हजार बढी मानिस भारतबाट आएका छन्। जसमा ५ हजारको मात्र पिसिआर परीक्षण गरिएको छ। बाँकी क्वारेन्टिनमा रहेका मानिसको पिसिआर परीक्षण गरिएको छैन। धेरैलाई आरडिटी परीक्षण गरेर घर पठाउने तयारी गरिएको छ।
सरकारले पनि प्रयोगशालाले परीक्षण धान्न नसकेपछि कोभिड १९ टेस्टिङको नयाँ निर्देशिका जारी गर्दै क्वारेन्टिनमा भएका सबैको पिसिआर परीक्षण गर्नु नपर्ने नीति अघि सारेको छ। निर्देशिकामा तीन वटा प्राथमिकताका आधारमा पिसिआर परीक्षण गर्ने भनिएको छ।
पहिलो– आइसोलेसनमा रहेका, संक्रमणको जोखिमयुक्त ठाउँबाट आएका र संक्रमितसँगको सम्पर्कमा आएकाको परीक्षण गर्ने भनिएको छ।
दोस्रो– फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, जोखिममा काम गर्ने सुरक्षाकर्मी, सरसफाइमा खटिने कर्मचारी, तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामी जो कोरोनाको शंकास्पद पनि छन् त्यस्ता व्यक्तिको पनि पिसिआर परीक्षण गर्ने भनिएको छ।
यस्तै धेरै संक्रमण फैलिएको समुदायका व्यक्ति र लक्षण भएका व्यक्तिलाई पिसिआर परीक्षणको तेस्रो प्राथमिकतामा राखिएको छ।
यसबाहेक ज्वरो, श्वासप्रश्वासमा समस्या भएका, छाती दुख्ने, पखला लाग्ने, घाँटी र मांशपेसी दुख्ने र खोकीको लक्षण भएका व्यक्तिहरूको पनि पिसिआर परीक्षण गरिनेछ।
क्वारेन्टिनमा भएका तर लक्षणविहीन अवस्था छ भने त्यस्ता व्यक्तिको पिसिआर परीक्षण गर्न नपर्ने निर्देशिकामा उल्लेख छ। यद्यपी क्वारेन्टिन बसाइँको १४ दिनपछि सबैको आरडिटी परीक्षण गर्ने भनिएको छ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।