दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैल्यशिखर नगरपालिका, दार्चुलाले कोरोना रोकथाम तथा नियन्त्रणका नाममा अनावश्यक बजेट खर्च गरेर अनियमितता गरेको आरोप लगाएको छ । नगरपालिकामा आर्थिक अनियमितता भएको ठहर गर्दै अनेरास्ववियुले आवश्यक छलफलका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शैल्यशिखर नगर कमिटीका इन्चार्ज, सह इन्चार्ज, नगर अध्यक्ष, उपाध्यक्ष, नगर कमिटीका सम्पूर्ण वडाअध्यक्ष लगायतलाई जेठ ३१ गते शनिबार गोकुलेश्वर बजारमा बोलाएको छ ।

अनेरास्ववियु मात्र हैन शैल्यशिखरका धेरै स्थानीय नागरिकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सञ्चालित राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन लगायत विभिन्न काममा अनियमितता भएको आरोप लगाउदै सामाजिक सञ्जालमार्फत आलोचना गरिरहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले निर्माण गरेको राहत कोषमा जम्मा भएको र खर्च भएको रकमको शिर्षकगत विवरण, राहत पाउने तथा राहत वितरण गरिएकाहरुको विवरण र उपलब्ध गराइएको राहतको विवरण, क्वारेन्टाइनको संख्या, क्वारेन्टाइनमा बसेका व्याक्तिहरुको नामावली, क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारी र स्वयमसेवकहरुको विवरण, स्वदेश तथा विदेशबाट उद्धार गरी ल्याइएका व्याक्तिहरुको सूची सार्वजनिक गर्न माग गरेपनि नगरपालिकाले वेवास्ता गरेको अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य भुवन भण्डारीले बताउनुभयो ।

अनेरास्ववियु शैल्यशिखर नगर कमिटि ईन्चार्ज राजेशसिंह बिष्टले भन्नुभयो, यहि जेठ २८ गते नगरप्रमुख अमरसिह धामीलाई भेटेर शिर्षकगत खर्च विवरण सार्वजनिक गर्न लिखित र मौखिक ढंगले माग गरेको भोलिपल्ट नगरपालिकाले खण्डन तथा भत्र्सना पत्र जारी गर्दै गल्ती ढाकछोप गर्न खोजेपछि अनियमितताको पर्दाफास गर्न पार्टी नेता र सरोकारवालाहरुसंग छलफल गरिरहेका छौ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाले कोरोना भाइरसको संक्रमणका बिच राहत वितरण तथा क्वारेन्टाइन व्यवस्थापनमा गरेको आर्थिक अनियमितालाइ जनतासामु पारदर्शी बनाउने अनेरास्ववियु नेताहरुले दाबी गरिरहेका छन् । स्थानीय केहि व्याक्तीहरुले समेत सामाजिक सञ्जालमा नगरपालिकाले अनावश्यक खर्च देखाएर अनियमितता गर्न खोजेको आरोप लगाएका छन् ।

शैल्यशिखर नगरपालिकाले गोकुलेश्वरको क्वारेन्टिन व्यवस्थापनमा ७४ लाख खर्च गरेको भनेर सर्वत्र आलोचना भइरहेको छ । धेरै स्थानीय व्यक्तिले फेसबुकमा स्टाट्स लेख्दै, गोकुलेश्वर बहुमुखी क्याम्पस र गोकुलेवर माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ८८ जना व्यक्तिहरूको खाना बस्नमा मात्रै ७४ लाख बजेट सकेको दाबी गरेका छन् ।

नेपालको संविधान २०७२ को व्यवस्था अनुसार सार्वजनिक महत्तको खर्चको हिसाब माग गरिएपनि नगरपालिकाले सार्वजनिक गर्न नचाहेको अनेरास्ववियुको आरोप छ ।

शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिह धामीले भने सामाजिक सञ्चालमा आएका विषयहरुको खण्डन तथा भत्र्सना गर्दै नगरपालिका कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा दत्तचित्त भएर लागेको बताउनुभएको छ । क्वारेन्टाइन व्यवस्थापनको विषयलाइ सामाजिक सञ्जालमा गलत रूपमा अफवाह फैलाउन खोजिएको नगरप्रमुख धामीद्धारा हस्ताक्षरीत खण्डन तथा भत्र्सना पत्रमा उल्लेख गरिएको छ ।

नगरप्रमुख धामीद्धारा हस्ताक्षरीत खण्डन पत्रमा नेपाल सरकारले गत चैत्र २० गते पछिका कुनै पनि विकास निमार्णका योजनाहरूको सम्झौता नगर्न परिपत्र गरको हुदाँ सोही अनुरूप नगर कार्यपालिकाको बैठकले यस आर्थिक वर्षका लागि छुटाएको विकास निर्माणको बजेट नगरपालिकाको कोरोना भाइरस नियन्त्रण कोषमा राखिएको र सोही बमोजिम क्वारेन्टाइन व्यवस्थापन तथा कोरोना भाइरस नियन्त्रणका अन्य कार्यहरूपनि सञ्चालन भइरहेको उल्लेख गरिएको छ । ‘क्वारेन्टाइन व्यवस्थापनको खर्च विवरण सकंलन भइरहेको र यकिन सत्य तथ्य विवरण आउन अझै केही समय लाग्ने हुँदा आधिकारिक विवरण नआउदै समाजमा गलत अफवाह नफैलाउन आग्रह गरिएको छ ।

तर अनेरास्ववियुले शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीले नेपालको लोकतान्त्रिक व्यवस्थामा सूचनाको हक पाउने जनताको अधिकार माथी हस्तक्षेप गर्दै जेठ २९ गतेका दिन जारी गरेको खण्डनपत्र र सो पत्रमा उल्लेख गरिएका धम्किपुर्ण तथा आम नगरवासी जनसमुदायको मनोभावनामा प्रत्यक्ष रूपमा चोट पुग्ने शब्दहरू प्रयोग गरिएको प्रती ध्यानआकर्षण भएको जनाएको छ । अनेरास्ववियु केन्द्रिय सदस्य भुवन भण्डारीको नेतृत्वमा अनेरास्ववियुले सार्वजनिक गरेको विज्ञप्तीमा धम्किपुर्ण कुराहरूबाट विचलित नभइ निरन्तर सुशासन, पारदर्शिता र भ्रष्टाचाररहित नगर निर्माणमा अहोरात्र खटिरहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

शैल्यशिखर नगरपालिकाले गरेका अनियमितताका कुराहरुलाई छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगरपालिकाको अनियमितता र भ्रष्टाचारका विषयमा आम नगरवासीलाई आफ्नो ठाउँबाट आवाज उठाउन अनेरास्ववियुले अपिल गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?