
दार्चुला । संविधान संशोधन विधेयेक सर्वसम्मतिले पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा प्रस्तुत गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
प्रतिनिधि सभामा दुई सय ७५ सांसद रहेकामा आज दुई सय ५८ जना उपस्थित थिए । उपस्थित सबैले संशोधनको पक्षमा मतदान गरेका छन् । विधेयेक पारित भएसँगै संविधानको अनुसूचीमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेकसहितका भूमि अटाएका छन् । यद्यपि यो विधेयेक राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्नेछ ।
त्यसपछि सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउनुहुनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नयाँ नक्साले पूर्ण वैधानिकता पाउनेछ ।सरकारले यसअघि नै नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरिसकेको छ । लिपुलेक र लिम्पियाधुरा क्षेत्र हुँदै भारतले कैलास मानसरोवर जाने बाटो निर्माण गरेर उद्घाटन गरेपछि नेपाल सररकाले भारतसँग गम्भीर असहमति जनाउँदै त्यो क्षेत्र नेपालको भूमि भएको भन्दै नयाँ नक्सा जारी गरेको छ ।
गएको नोभेम्बरमा भारतले लिम्पियाधुरा र लिपुलेक समावेश गरेर नयाँ प्रशासनिक नक्सा जारी गर्दा पनि नेपालले विरोध जनाएको थियो ।सीमा विवादको बारेमा नेपालले वार्ताको लागि पटक पटक भारतसँग आग्रह गरेे पनि भारत वार्तामा बस्न मानेको छैन ।
सीमा विवादको लागि दुवै देशले गठन गरेको प्रबुद्ध समूहको प्रतिवेदन पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न अस्वीकार गर्दै आएका छन् ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।