दार्चुला । स्वास्थ्य चौकी भवन निर्माणको विषय टुंगो लगाउन नसक्दा मालिकार्जुन गाउँपालिका वडा नम्बर १ मा जनप्रतिनिधिलाई स्थानीयले वडा कार्यालयभित्र थुनेका छन् ।
स्थानीयले मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी, वडा नम्बर ६ का वडा अध्यक्ष गोपालसिह धामी, वडा नम्बर ७ का वडाअध्यक्ष लोकेन्द्रसिह धामी, वडा नम्बर १ का वडा अध्यक्ष गौरसिह बोहरा लगायत वडापालिकाका सदस्य र सचिवलाई कार्यालयभित्रै थुनेका हुन् ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर १ मा स्वास्थ्य चौकी भवन बनाउने विषयमा सहमति नहुँदा लामो समयदेखि स्थानीय बीच विवाद छ। भवन बनाउने विषयमा सहमति नहुँदा वडाले गाउँपालिकामा सहमतिको लागि आग्रह गरेपछि गाउँपालिकाले उपाध्यक्ष पुष्पा अवस्थीको नेतृत्वमा ३ सदस्य समिति गठन गरेको थियो ।
समितिले सोमबार स्थानीय र जनप्रतिनिधिसंग छलफल गरेपनि सहमति हुने अवस्था नआएपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
वडा नम्बर १ मा तल्लो वस्ती र माथिल्लो वस्ती बीच स्वास्थ्य भवन बनाउने विषयमा विवाद रहेकाे छ ।
तल्लो क्षेत्रका स्थानीयले सडक छेउमा भवन बनाउनुपर्ने माग गरिरहदा माथिल्लो भेगका स्थानीयले डुङुरी वस्ती नजिकै स्वास्थ्य चाैकीकाे भवन बनाउनुपर्ने माग गर्दैअाएका छन् ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।