दार्चुला । मार्मा गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्ष ०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । जलस्रोत जडिबुटी एवं पर्यटन पूर्वाधारको विकास, समग्र मार्मा गाउँपालिका सम्बृद्धि र विकासमा हाम्रो प्रयास भन्ने मूल नाराका साथ नीति कार्यक्रम सार्वजनिक गरिएको हो ।
मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै कोरोना भाइरससँग जुध्दै समग्र मार्माको विकासमा केन्द्रीत हुने विषयलाई प्रार्थमिकतामा राखिएको बताउनुभयो ।
रेडियो लोकदर्पणसंगको कुराकानीका क्रममा अध्यक्ष धामीले गाउँपालिकाले मुख्यतया कोरोना रोकथाम तथा नियन्त्रण गर्ने र कोरोनाले प्रभाव पारेका क्षेत्रहरुको विकासका लागि नीति ल्याइएको धारणा राख्नुभयो । सम्बृद्ध मार्मा निर्माणको अभियानलाई मूर्त रुप दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको र सोहि अनुसार असार १० गते वार्षिक बजेट सार्वजनिक गरिने अध्यक्ष धामीले बताउनुभयो ।
गाउँपालिकाले आर्थिक विकासको लागि कृषि र पशु क्षेत्रलाई जोड दिएको छ । कृषिमा आधुनिकीकरण गर्दै हरेक वडामा पकेट क्षेत्र विस्तार गरिने उहाँको भनाइ छ । कोरोना भाइरसको प्रभावका कारण भारत लगायतका विभिन्न क्षेत्रबाट रोजगारी गुमाएर फर्किएकाहरुका लागि रोजगारी निर्माण हुने खालका योजना, कार्यक्रमले बजेटमा प्रार्थमिकता पाउने उहाँको भनाइ छ ।
कोरोना नियन्त्रणमा ७६ लाख खर्च
मार्मा गाउँपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि हालसम्म ७६ लाख ५८ हजार १ सय २२ रुपैया खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण गर्न क्वारेन्टिन स्थापना, व्यवस्थापन तथा संचालन, औषधी खरिद, राहत वितरण र काठमाण्डौँ, धनगढी, महेन्द्रनगरबाट गाउँपालिकाका मानिसहरुलाई विभिन्न समयमा उद्दार गरि पालिकामा ल्याउदा ७६ लाख ५८ हजार बढी खर्च भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत रामकुमार रानाले बताउनुभयो ।
उहाँका अनुसार क्वारेन्टाइन स्थापना, संचालन र व्यवस्थापनमा ३० लाख ३७ हजार ५ सय ७२ रुपैया, गाउँपालिकाका मानिसहरुलाई विभिन्न ठाउँबाट उद्दार गरी ल्याउदा १२ लाख ४२ हजार ८ सय रुपैया, राहत वितरणमा २३ लाख ७७ हजार ७ सय ५० र औषधी खरिदमा १० लाख रुपैया खर्च भएको छ ।
मार्मा गाउँपालिकाले सोमबार सार्वजनिक गरेकाे आर्थिक वर्ष ०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रमकाे पूर्ण पाठ हेर्नका लागि तलकाे लिकंमा क्लिक गर्नुहाेस
मार्मा गापा नीति कार्यक्रम २०७७-७८ new
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।