दार्चुला । दार्चुलाका १२ जना संक्रमित कोरोना जितेर घर फर्किसकेका छन् । शैल्यशिखर नगरपालिकाका ८ जना, महाकाली नगरपालिकाका २ जना र लेकम गाउँपालिकाका २ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा सबैलाई आइसोलेसनबाट डिस्चार्ज गरिएको छ ।

मंगलबार लेकम गाउँपालिकाका दुई जना र महाकाली नगरपालिकाका १ जना पुरुषलाई डिस्चार्ज गरिएको छ । सोमबार शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरस्थित क्वारेन्टाइनमा बसेका ८ जना संक्रमितलाई घर पठाइएको थियो । यसअघि महाकाली नगरपालिकाका १ जना पुरुष कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।

स्वास्थ्य मन्त्रालयको कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा भई उपचारपछि निको भएका वा कोरोना संक्रमणका लक्षण नदेखिएका १२ जना अर्थात दार्चुलाका सबै संक्रमितलाई होम आइसोलेसनमा बस्नेगरी डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस सम्पर्क व्याक्ति बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।

होम आइसोलेसनमा बस्दा चिकित्सकको नियमित सम्पर्कमा रहने र स्वास्थ्य मन्त्रालयको जारी निर्देशिकामा उल्लेख गरिएका कुराको पालना गर्नेलगायतका कुरा सम्झाएर घर पठाइएको भट्टले बताउनुभयो । तीन हप्ता पहिले भारतबाट आएका उनिहरुलाई पीसीआर विधिबाट संक्रमण पुष्टी भएको दुई हप्ता बितेपनि कोरोना भाइरसको लक्षण देखिएको छैन् । तर दोस्रो चोटी पीसीआर विधिबाट परीक्षण नगरेरै संक्रमितलाई घर पठाउदा कोरोना संक्रमणको जोखिम बढ्ने गुनासो आइरहेको छ ।

१७ गते संकलन भएको थ्रोट स्वाबको नमुना पोजेटिभ देखिएका लेकम गाउँपालिकाका दुई जना पुरुषमा १८ दिनसम्म कुनै लक्षण नदेखिएपछि १० दिन होम क्वारेन्टाइनमा बस्न सुझाब दिदै आइसोलेसनबाट बिदा गरिएको लेकम गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरिप्रसाद जोशीले बताउनुभयो ।

पछिल्लो एक हप्तामा दार्चुलाका कसैको पनि पीसीआर विधिबाट परीक्षण भएको छैन् । आरडिटी विधिबाट जिल्लाभरीमा हालसम्म ८४ जनाको रिपोर्ट पोजेटिभ आएपनि पीसीआर विधिबाट परीक्षण नगरिदा गाउँघरमा कोरोनाको त्रास घट्न सकेको छैन् ।

गत हप्तासम्म दार्चुलाका सात सय ९२ जनाको पीसीआर विधिबाट थ्रोट स्वाबको नमूना परीक्षण गरीएकोमा १२ जनाको पोजिटिभ आएको, अझै पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको र बाँकी ७७५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

स्वाब संकलन गरी धनगढी पठाइयो

मंगलबार जिल्लाका ८ वटा स्थानीय तहमा थ्रोट स्वाबको नमुना संकलन भएको छ । आरडिटी पोजेटिभ देखिएका र कोरोना संक्रमितको प्रतक्ष्य संम्र्पकमा रहेका मानिसहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको हो ।

मालिकार्जुन गाउँपालिकाका ४५ जना, लेकम गाउँपालिकाका ३५ जना, नौगाड गाउँपालिकाका २० जना, अपिहिमाल गाउँपालिकाका ६ जना, मार्मा गाउँपालिकाका २० जना, महाकाली नगरपालिकाका ३० जना, शैल्यशिखर नगरपालिकाका २५ जना र व्यासँ गाउँपालिकाका १० जनाको भिटिएमको माध्यमबाट थ्रोट स्वाबको नमुना संकलन गरिएको हो ।

दुहुँ बाहेकका ८ वटा स्थानीय तहबाट कुल २ सय २८ जनाको थ्रोट स्वाबको नमुना संकलन गरेर परीक्षणका लागि मंगलबार नै धनगढी पठाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?