दार्चुला । सुदूरपश्चिम प्रदेशमा आज १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढीको कोरोना परीक्षण प्रयोगशालामा १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार आज तीन जना महिला र १४ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । कैलालीका १० र कञ्चनपुरका सात जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । कैलालीको धनगढी उपमहानगरपालिकाका आठ जना, लम्कीचुहा नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै सुदूरपश्चिममा काेराेना सङ्क्रमितको सङ्ख्या तीन सय ४७ पुगेको छ । हिजो ६८ जनामा कोरोना पुष्टि भएको बताइए पनि दुई जना अछामका सङ्क्रमितको भने दोस्रो पटक परीक्षण गरिएकाले ६६ जना मात्रै नयाँ सङ्क्रमित थिए ।
अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक सय तीन जना, कञ्चनपुरका ७३, डडेल्धुराका ३९, डोटीका ३७, बैतडीका २७, अछामका २०, बाजुराका २१, बझाङका १४ र दार्चुलाका१२ जनामा कोरोना पुष्टि भएको छ ।अहिलेसम्म काेराेना पुष्टि भएका दुई जनाको मृत्यु भएकाे छ भने ५२ जना निको भएर घर फर्किसकेका छन् ।
अहिलेसम्म धनगढी प्रयोगशालाबाट तीन सय २१, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पाँच र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो
कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका ६ का ४६ बर्षका महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएका उनको हिजो साँझ मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
उहाँको पनि मृत्युपछि मात्रै कोरोना भएको पुष्टि भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।