दार्चुला । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलामा स्थापना गरीएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस क्याम्प निरीक्षणका लागि छाङरु प्रस्थान गर्नुभएकाे छ ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस क्याम्प निरीक्षणका लागि उहाँहरु त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएकाे हाे ।
उहाँहरु काठमाडौंबाट धनगढीसम्म चार्टर विमान र धनगढीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दार्चुलाको छाङरु जाने कार्यक्रम रहेको सैन्य स्राेतले जनाएकाे छ ।
गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस क्याम्प स्थापना गरेको थियो। सीमामा नेपाली सुरक्षाकर्मीकाे उपस्थिति र गतिविधि बढेसंगै नेपाली अाकासमा भारतीय पक्षकाे हवाइ उडान राेकिएकाे छ ।
विगतमा नेपालतर्फ सीमामा राज्यकाे उपस्थिति कमजाेर हुदा दैनिक भारतीय सेनाकाे हेलिकाेप्टर नेपाली अाकासमा उडान भर्ने गरेकाे थियाे । बुधबार नै सशस्त्र प्रहरीकाे दार्चुला सदरमुकाम खलंगामा निर्माण भएकाे भवनकाे उद्घाटन गर्ने कार्यक्रम पनि रहेकाे छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।