दार्चुला । दार्चुलामा हालसम्म ३ हजार ३ सय ९८ जनाको आरडिटी परीक्षण गरिएकोमा ९० जनाको रिर्पोट पोजेटिभ आएको छ ।
गत साता झण्डै साढे १६ सय मानिस क्वारेन्टाइनमा बसेकोमा बुधबार ९७४ जना मात्रै क्वारेन्टाइमा रहेका छन् । बाकी सबैलाई १४ दिन पुरा भएपछि होम क्वारेन्टाइनमा बस्न सुझाब दिएर घर पठाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा हालसम्म १२ जना कोरोना संक्रमित भेटिएकोमा सबैलाई डिस्चार्ज गरिएको छ । शैल्यशिखर नगरपालिकाका ८ जना, महाकाली नगरपालिकाका २ जना र लेकम गाउँपालिकाका २ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा सबैलाई आइसोलेसनबाट डिस्चार्ज गरेर होम आइसोलेसनमा बस्न सुझाब सहित पठाइएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयको कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा भई उपचारपछि निको भएका वा कोरोना संक्रमणका लक्षण नदेखिएका १२ जना अर्थात दार्चुलाका सबै संक्रमितलाई होम आइसोलेसनमा बस्नेगरी डिस्चार्ज गरिएको हो । पछिल्लो एक हप्तामा दार्चुलाका कसैको पनि पीसीआर विधिबाट परीक्षण भएको छैन् ।
मंगलबार दार्चुलाका दुहुँ बाहेक ८ वटा स्थानीय तहमा २२८ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाइएको छ । आरडिटी पोजेटिभ देखिएका र कोरोना संक्रमितको प्रतक्ष्य संम्र्पकमा रहेका करिब दुई सय २८ मानिसहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि थ्रोट स्वाबको नमुना संकलन गरी धनगढी पठाइएको फोकल पर्शन भट्टले बताउनुभयो ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।