![](https://lokdarpantv.com/wp-content/uploads/2020/06/mahakali-badhi-2070.jpg)
दार्चुला । महाकाली नदीको बाढीले दार्चुला सदरमुकाम खलंगामा वितण्डा मच्याएको छ वर्ष पूरा भएको छ । २०७० साल असार २ गतेबाट महाकालीमा आएको बाढीले दार्चुला सदरमुकामको भौगोलिक स्वरुप नै परिवर्तन भएको थियो ।
छ वर्ष अघि एउटै लहरमा जोडिएको दार्चुला सदरमुकाम अहिले स्वरुप परिवर्तन भएर तीन टुक्रामा विभाजित छ । २०७० असार २ गतेबाट महाकाली नदीमा आएको बाढीले दार्चुलाका झण्डै डेढ सय घर परिवार तथा दर्जन बढि सरकारी कार्यालय बगाउँदा करोडौको धनमाल क्षति भएको थियो ।
जिल्ला बिपद् ब्यबस्थापन समितिको तथ्याङक अनुसार ११ ओटा सरकारी कार्यालय बगाउँदामात्रै २३ करोड ७९ लाख ३५ हजार २ सय ७८ रुपैया बराबरको क्षती भएको थियो ।
बाढीमा परि २ जनाको ज्यान गएको थियो भने दर्जनौ परिवार बिस्तापित भएका थिए । तर पीडितहरुले भने तत्कालीन अवस्थामा सरकारबाट ३५ हजार रुपैयाँ राहत बाहेक केहि सुविधा नपाएको गुनासो गरीरहेका छन् ।
बाढी पीडितले पुर्नस्थापनको माग राख्दै बाढी पीडित संघर्षसमिति गठन गरेर आवाज उठाएपनि हालसम्म सुनुवाई नभएको बाढी पिडितकाे गुनासाे छ । तात्कालिन सरकारको मन्त्री परिषदको निर्णयले बाढी पीडित व्यवसायीलाई सहुलियत रुपमा ऋण दिने, बाढी पीडितका छोराछोरीहरुलाई बैदेशिक रोजगारी तथा अन्य सरकारी सेवा सुविधामा सहुलियत दिने निर्णय गरेपनि कार्यान्वयन भएको छैन् ।
अहिले पनि बंगाबगडको पारीपट्टी आएको खोतिला पहिरोको त्रासमा स्थानीय छन् ।
महाकाली नदीमा बाढीपछि ५ बर्षमा निमार्ण सम्पन्न गर्नेगरी आर्थिक वर्ष २०७०।०७१ बाट शुरु भएको नदी नियन्त्रण आयोजनाकाे काम अहिलेसम्म पुरा भएको छैन् ।
![](https://lokdarpantv.com/wp-content/uploads/2024/05/lokendra-joshi.jpg)
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।