दार्चुला । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले १० औ वार्षिकोत्सवको अवसरमा अनलाइन मार्फत पदाधिकारी, शिक्षक र कर्मचारी माझ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकारको लगानीमा २०६७ साल असार ३ गते महेन्द्रनगर कञ्चनपुरमा केन्द्रीय कार्यालय रहने गरी स्थापना भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शैक्षिक सत्र २०६९/७० सालदेखि स्नातक र शैक्षिक सत्र २०७०/७१ देखि स्नातकोत्तर तहका कार्यक्रमहरूमा संचालन गर्दै आएको छ ।
स्थापनाको एक दशक पुरा गरेको विश्वविद्यालयले २०७५ सालमा सुदूरपश्चिम प्रदेशका अन्य १४ वटा क्याम्पसहरुलाइ समायोजन गरी आफ्नो शैक्षिक कार्यक्रम विस्तार गरेको छ । यी क्याम्पहरु समायोजन भएसँगै सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लामा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आङ्गिक क्याम्पसहरू स्थापना भएका छन् ।
यस अवसरमा विश्वविद्यालय स्थापनार्थ योगदान पुर्याउने सम्पुर्ण महानुभावहरु प्रति विश्वविद्यालय परिवार आभारी रहेको र आगामी दिनहरुमा समेत सहयोग र सहकार्यका लागि विश्वविश्वविद्यालय तत्पर रहेको विश्विद्यालयका रजिष्ट्रार डा. गोविन्द सिंह विष्टले बताउनुभयो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै उपकुलपति प्रा.डा. अम्मर राज जोशीले विश्वविद्यालयको प्रगतिका लागि स्वार्थ रहित ढंगले सबैले जुट्नु पर्नेमा जोड दिनुभएको गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक रमेशचन्द्र जोशीले बताउनुभयो ।
नेपाल सरकारले वि.सं. २०६७ साल असार ३ गते सुदूरपश्चिमाञ्चल, कृषि तथा वन विज्ञान र मध्यपश्चिमाञ्लल विश्वविद्यालयको ऐन जारी गरेको थियो ।
विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न विषम परिस्थिति माझ जारी लकडाउनका कारण अनलाइन मार्फत पदाधिकारी, शिक्षक र कर्मचारी बीच शुभकामना आदानप्रदान कार्यक्रम गरिएको विश्वविद्यालयले जनाएको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।