दार्चुला । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । नेपालकाे नाबी, कुटी, गुन्जी समेत लिम्पियाधुरासम्मकाे भूमि वर्षाैपछि नेपालकाे नक्सामा समेटीएपछि सम्पूर्ण नेपाली हर्षित भएका छन् ।
निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।
प्रतिनिधिसभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रियसभाले बिहीबार नै सर्वसम्मतिले पारित गरेको थियो ।राष्ट्रियसभाबाट पारित भई पुन प्रतिनिधिसभामा पुगेको विधेयकलाई बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाउनुभएकाे थियाे ।
सरकारले जेठ ५ गते लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषदबाट पास गरेको थियो ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो ।त्यसको दई दिनपछि जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।प्रतिनिधि सभामा समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरा नेपालको हो भन्ने तथ्य र प्रमाण नपुग्दै संविधान संशाेधन गर्न नहुने भन्दै संशोधन विधेयक दर्ता गर्नुभएकाे थियाे, जसलाई सभामुख सापकोटाले अस्वीकृत गरिदिनुभएकाे थियाे ।
नयाँ नक्सालाई संवैधानिक मान्यता दिने विषयमा संसदमा प्रतिनिधित्व गर्ने सत्तारुढ र विपक्षी दल एक ठाउँमा उभिएका थिए । बिहीबार राष्ट्रियसभामा भएको छलफलमा पनि नेताहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको बताएका छन्।
नेताहरुले त्यसका विभिन्न प्रमाणसमेत सभामा प्रस्तुत गरेका छन् । कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता हुनुपर्ने र भारतले तत्काल वार्ताकाे टेबुलमा बस्नुपर्ने नेताहरुकाे माग छ ।
दीप प्रज्वलन गर्न आह्वान
यसैबिच सरकारले संविधान संशोधन भएको खुसियालीमा दीप प्रज्वलन गर्न सर्वसाधरणमा आग्रह गरेकाे छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले अब सीमा समस्याका विषयमा भारतसँग वार्ता हुने बताउनुभयाे ।‘हामीसँग तथ्य र प्रमाण धेरै छन् । प्रमाण भएकै आधारले हामीले हाम्रो भूभाग भनेका हौं’ उहाँले भन्नुभयाे, ‘अब तथ्य र प्रयाप्त प्रमाणका आधारमा वार्ताको टेबुलमा बस्छौं । नेपाल सरकार वार्ता गर्दा कुनै पनि तथ्य र प्रमाणलाई नछोडीकन बस्छ ।
यसैबिच कालापानी नेपालकाे मुटु हाे कालापानी काठमान्डाैँलाइ किन दुख्दैन भनेर संसदमा अावाज उठाउने दार्चुलाका राष्टबादी नेता स्व.प्रेमसिह धामीकाे सालिकमा समेत नक्सा प्रमाणिकरण भएकाे अवसरमा दिप प्रज्वलन गर्ने तयारी भइरहेकाे छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।