दार्चुला । सरकारले कोभिड–१९ (नोवेल कोरोना भाइरस) महामारी नियन्त्रणका लागि लगाएको ८३ दिने लकडाउनमा अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द थिए । तर यो अवधीमा पनि भ्रष्टाचारमा भने कमी नआएको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीबाट देखिन्छ ।
चैत, वैशाख र जेठ करिब दुई हजार उजुरी परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयाे । लकडाउन अवधीमा अधिकांश उजुरी अनलाइनबाट आएको उहाँले बताउनुभयाे ।
अख्तियारले लिखित, टेलिफोन, इमेल, वेवसाइट, फेसबुक, भाइबर, ट्विटरलगायतबाट उजुरी लिन्छ । लकडाउनका बेला ओम्नी समूहमार्फत चीनबाट दशौं गुणा बढी मूल्यमा स्वास्थ्य सामग्री खरिद गरिएको भन्दै दुई वटा उजुरी परेका छन् ।
कार्यालय खुल्ना साथ घुस
सरकारले लकडाउनका बेला बन्द रहेका सरकारी कार्यालयहरू पनि असारदेखि खोल्ने निर्णय गर्यो । कार्यालय खुलेलगत्तै अख्तियारले ८ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा ६ जनालाई पक्राउ गर्यो ।भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत मालपोत अधिकृत रघुवंश कंडेल, नासुत्रय उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई घुससहित रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता कोइरालाले बताउनुभयाे ।
पक्राउ परेका कर्मचारीहरूले गैरकानूनी तरिकाले जग्गाको कित्ताकाट गरेको अख्तियारले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरमा दरबन्दी भएर मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक सीताराम घिमिरेलाई पनि घुस लिएको आरोपमा नियन्त्रणमा लिएर अख्तियारले चार्जसिट दायर गरेको छ । -अनलाइनखबरबाट
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।